कार्तिक ५ पाल्पा
सुमन कार्की ।
पाल्पामा कुनै समय करेसाबारी र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाउन थालिएको छ । विभिन्न कार्यक्रम र उत्सवहरुमा समेत फूलको मालाको प्रयोग वढ्न थालेपछि व्यावसायिक रुपमा फूलको खेति सुरु हुन थालिएको हो । जिल्लाको माथागढी गाउँपालिका वडा नं. २ रूप्सेकी गीता घर्ती थापाले अहिले व्यावसायिक रुपमा फुलको खेतिको सुरुवात गरेकी छन् । तिहारको आगमनसँगै फुलको मालाको माग अत्याधिक वढ्ने भएकाले उत्पादनमा समेत वृद्धि भएको छ । विगतका समय घरको चुलो चौकोमा सिमीत हुदै आएकी गीता थापा अहिले आफ्नो घर नजिकै खेतवारीमा रहर लाग्दो सय पत्री तथा हजारीफुल संग रमाउदै ब्यवसायी फुलखेतीमा रमाउदै छिन् । माध्यमिक तहको पढाई सकेर विहेवारी भएको थापाले सामाजिक सञ्चालनबाटै सिकेर फुल खेती गरेको बताउछिन् । बजारमा विशेष गरी तिहारको बेला कृत्रिम रबरका माला तथा भारतवाट आयातित फुल मालाले वर्चस्व कायम गरिरहेको अवस्थामा ति फुललाई निरुत्साहित गर्न आफुले ब्यावसायीक रुपमा फुल खेती गरेको थापाले बताइन् । तिहार नजिकीएकाले गर्दा पनि यति खेर घर्ती थापालाई फुल टिप्न र माला गास्न भ्याई नभ्याई छ । थापाले माराखोप बहुउद्देश्यीय कृषि फर्म दर्ता गरि पहिलो वर्ष १ रोपनी क्षेत्रफलवाट फुलखेतीको सुरुवात गरी अहिले ३ रोपनीमा खेती गर्दे आएको र वार्षिक २ लाख सम्म आम्दानी हुने वताउछिन् ।
गीता श्रीमान दामोदर घर्तीको साथ र सहयोगकै कारण व्यवसायिक रुपमा कलकत्ते र कर्माजातको सयपत्री फुल आफ्नो वारीमा लगाएकी छन् । पहिलो वर्ष गाउँपालिकावाट विउ सहयोग भएकोमा अहिले भने कहीकतैवाट सहयोग नरहेको उनको भनाई छ । फुलखेतीमा थापालाई आफ्नो घर परिवारको पूर्ण सहयोग रहेको छ भने श्रीमान दामोदर घर्तीले पनि थापालाई फुल खेतीमा पूर्णरुपले सघाउदै आएका छन् । फुल खेती वाटै घरधन्दा चलाउन एकदमै सजिलो भएको थापाको भनाई छ । फर्ममा दैनिक जसो फुल खेति हेर्न समेत वाहिरवाट मानिसहरु आउने गरेको र तिहार नजिकीए सगै फुल र फुलमालाको अडर आइसकेको थापा वताउछिन ।
विशेष गरि फुलको विउ विजन देखि लिएर वजारीकरण सम्मको व्यवस्थापन श्रीमान दामोदर घर्तीले हेर्दे आएको थापाको भनाई छ ।
घर घरमै फुल तथा माला किन्न आउने हुदा उत्पादन गरेको फुल कहाँ लिएर विक्री गरौं भन्ने समस्या नरहेको घर्तीको भनाई छ । आफुले उत्पादन गरेको फुल स्थानिय वजार देखि रूपन्देही जिल्लामा विक्रीे गरेको घर्तीले बताउछन् । जिल्लाको सदरमुकाम र विभिन्न स्थानका बजारबाट फुल लिन आउने गरेका छन् ।माग अनुसार जिल्लामा फुल उत्पादन हुन नसकेको घर्तीको भनाइ छ । अहिले एउटा मालालाई ५० देखी ३ सय रुपैया र प्रति के.जि २ सय पचास देखि ५ सय रुपैया सम्म विक्री गर्ने गरेको बताउछन् । सुरुसुरुमा तिहारका लागि मात्रै सयपत्री फुल उत्पादन गर्ने गरे पनि श्रीमतीले यस वर्ष देखि बाह्रै महिना फुल उत्पादन गर्ने उदेश्यका साथ अगाडी वढेको दामोदर घर्तीको भनाई छ । फुलको साथसाथै श्रीमतीले तरकारी र च्याउसमेत उत्पादन गर्ने गरेको वताउछन् ।
सयपत्री मात्रै नभएर मखमली,गुलाफ तथा अन्य फुल प्रजाती पनि उत्पादन गर्ने सोचमा रहेको थापाले बताउछिन् । आफुसंगै परिवारले फर्ममा सघाउदै आएको र एकजना स्थानियलाई रोजगारी समेत थापाले दिएकी छन् । तिहारमा मात्र नभई विभिन्न औपचारिक कार्यक्रम, विवाह, पुजाआजाका लागि समेत फुलको माग हुने गरेको छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ लाग्न अन्य कृषकलाई समेत थापाको फर्मले प्रेरीत गरेको छ । टनेलको व्यवस्थापन नहुदा यस वर्ष बेमौसमी वर्षाका कारण फुल खेतिलाई पनि असर गरेको छ । यसले गर्दा सोचे जति आम्दानी समेत घट्ने होकि भन्ने चिन्ता थापा परिवारमा देखिन्छ । स्थानिय सरकार तथा सरोकार निकायले विउविजन मात्र नभई सिचाइको व्यवस्था साथै टनेल निमार्णमा समेत किसानहरुलाई अनुदान तथा सहयोग गर्ने तर्फ ध्यान दिने हो भने गीता मात्र होईन उनी जस्ता सयौं महिला दिदी वहिनीहरुलाई स्वरोगार वनाउन सकिने देखिन्छ ।











