भाद्र १६ पाल्पा
आज ऋषिपञ्चमी नेपाली नारीले अरुन्धती सहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।
महिलाहरुले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको खोला, नदी, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको जानकार विद शास्त्रीहरुको भनाई छ ।
आज स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा भन्ने गरिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।
यस अवसरमा आज मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्दछ ।
सप्तऋषिको पूजा गरेसँगै तीज व्रत समाप्त हुने मान्यता छ ।
फाइलफोटोः गुगल













