भाद्र १६, चितवन
अर्घाखाँची सन्धीखर्कका ४७ वर्षीय गणेश प्रसाद भुसालले चितवनमा जग्गा भाडामा लिएर तरकारी खेती गर्न थालेको ११ वर्ष भयो । लामो समय पत्रकारितामा सक्रिय उनी पुरानो पेसा छाडेर कृषि पेसामा लागेका हुन् । उनले स्थानीय प्रभात उच्च माविको ८ बिघा जग्गा भाडामा लिई तरकारी लगाएका छन् । जग्गाको मात्र वाषिर्क १ लाख ६० हजार भाडा बुझाउँछन् । 'तीन सिजनमा छुट्टाछुट्टै तरकारी लगाएको छु,' उनले भने, 'मेरा लागि तरकारी नफल्ने महिना छैन ।' तरकारी बिक्रीका लागि बजारको समस्या नभएको उनी बताउँछन् । वाषिर्क ७० लाख बराबरको तरकारी बिक्री गर्दै आएका छन् । खर्च कटाएर नाफा १५ लाखसम्म हुन्छ । यस वर्ष सबैभन्दा धेरै लौका १३ लाख रुपैयाँको बिक्री गरे । यस्तै आलुको बीउ ६ लाखको बिक्री भयो । यस वर्ष ३० लाखको टमाटर बिक्री गर्ने उनको लक्ष्य छ । अप्रत्यक्ष ३० र प्रत्यक्ष १६ जनालाई रोजगारी दिएका छन् । 'केहीलाई मासिक तलब दिएर राखेको छु,' उनले भने, 'अन्यलाई दैनिक ज्यालामा काम दिन्छु ।' उनले तरकारीको मुख्य बजार काठमाडौंको कालीमाटी र चितवनको नारायणगढ भएको बताए । पहिलो सिजन भदौदेखि मंसिरसम्म काउली, बन्दा, ब्रोकाउली, मूला, गाँजर, टमटर लगाउँछन् । दोस्रो सिजन मंसिरदेखि वैशाख सम्म टमाटर, तनेबोडी, चिचिन्डो, लौका, घिरांैला, करेला, भान्टा र काँक्रो हुन्छ । तेस्रो सिजन भने वैशाखदेखि भदौसम्म हुन्छ । उक्त सिजनमा लौका, चिचिन्डो, पीरो खुर्सानी र काँक्रो हुने भुसाल बताउँछन् । 'असिना पानीबाट तरकारी जोगाउन समस्या हुन्छ,' उनले भने, 'असिना पानी नआए राम्रो आम्दानी हुन्छ ।' उनले रोजगारी दिएकालाई तलबमा मात्र वाषिर्क २५ देखि ३० लाख रुपैयाँ खर्च गर्छन् । 'पत्रकारिताले आर्थिक निर्वाह हुन छाड्यो,' उनले भने, 'छोराछोरी बढ्दै गए, खर्च त्यसैअनुसार हुन थाल्यो । त्यसैले कृषि पेसामा लागे ।' अर्घाखाँचीमा ५ वर्ष बसेर पत्रकारिता गरेका उनी कानुनका विद्यार्थी हुन् । उनले बीएल पास गरेका छन् । जेठी छोरी बनारसमा बीएसीएजी पढ्दै छिन्, छोरा काठमाडौंको शंरकदेव क्याम्पसमा स्नातकोत्तर र कान्छी छोरी काठमाडौंको मोडल कलेजमा प्लसटु पढ्छिन् । 'छोराछोरीलाई यही पेसाले पढाउन सकेको छु,' उनले भने, 'त्यसैले पेसाबाट सन्तुष्ट छु ।' उनले १ बिघा जग्गा भाडामा लिएर सुरु गरेको तरकारी खेती अहिले ८ बिघामा बिस्तार भएको छ । उनले जहाँ तरकारी खेती थाल्छन् । त्यहाँका किसानले उनको सिको गर्छन् । गुञ्जनगरमा २० जनाले उनको सिको गरेर ब्यावसायिक तरकारी खेती थाले । शुक्रनगरमा समेत तरकारी खेती गर्नेको संख्या बढेको छ । उनको तरकारी खेती हेर्न टाढा- टाढा देखि किसानहरू आउँछन् । 'तरकारी खेतीका बारेमा बुझ्न पूर्व-पश्चिम सबै जिल्लाबाट मै जस्ता किसान आउँछन्,' उनले भने, 'खेतीका बारेमा जानकारी लिई फर्किएर तरकारी खेती पनि गर्छन ।' अहिले थप व्यावसायिक रुपमा मेवा खेती गरेका छ्न ,मेवा खेती राम्रो हुँदै गएको र अब उत्पादन दिने तयारीमा रहेको उनी बताउँछन्। २०६० सालमा अर्घाखाँची जिल्लाबाट चितवनमा आई निरन्तर रुपमा व्यावसायीक तरकारी खेतीमा लागि चितवनको मात्र नभै देशकै उत्कृष्ट र मार्ग दर्शक किसानको रुपमा स्थापित भएकोमा कामको मूल्यांकन गर्दै संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा जनसेवा श्री पञ्चम पदकबाट विभूषित भएका थिए।














