भाद्र १५ पाल्पा
स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा डेँगु, स्क्रबटाइफस तथा कालाजार रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम तानसेनमा सन्पन्न भएको छ । पाल्पाका सरोकारवाला पक्षलाई राखेर कीटजन्य रोग डेँगु, स्क्रबटाइफस र कालाजार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले पाल्पा जिल्लामा केही दिनयता डेँगुबाट संक्रमण भएका बिरामीको संख्या बढेकाले सबै जना सचेत रहनु पर्ने वताउनु भयो । गिरीले डेँगु लामखुट्टेबाट सर्ने भएकाले त्यसबाट बच्न पानी जम्ने स्थानलाई तत्काल पुर्ने तथा लामा बाउला भएका कपडा लगाउनु पर्ने सुझाव दिनुभयो ।
पाल्पा जिल्लामा पछिल्लो सात महिनाको अबधिमा ४५ जनामा डेँगुको संक्रमण पुष्टि भएको जानकारी दिनुहुँदै उहाँले भदौँ, असोज र कात्तिक महिनामा डेँगु संक्रमण अझैँ बढ्न सक्ने बताउनुभयो । पछिल्लो महिनामा डेँगुको संक्रमण दोब्बरले बढेको अवस्था रहेको कार्यालय प्रमुख गिरीले बताउनुभयो । डेँगुको संक्रमण गर्ने लामखुट्टे दिउँशोको समयमा मात्र सक्रिय हुने भएकाले सर्वसाधारण दिउँशोमा टोक्ने लामखुट्टेबाट सचेत रहनुपर्नेमा जोड थियो ।
डेँगुको संक्रमण भएका व्यक्तिमा उच्च ज्वरो आउने, जीउ दुख्ने, वान्ता हुने, पेट दुख्ने जस्ता लक्षणहरु देखिन सक्छ ।
यस्तै पाल्पा जिल्लामा गत वर्ष स्क्रबटाइफसका ८ जना बिरामी भेटिएकाले जंगली किर्नाको टोकाइबाट साबधान रहनुपर्नेमा उहाँको भनाई छ । स्क्रबटाइफसबाट बच्नका लागि जंगलमा जाँदा लामा बाउला भएका कपडा लगाउने, घर वरिपरी घाँस बढ्न नदिने, मुसा नियन्त्रणका लागि उपयुक्त विधि अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाई छ ।
अभिमुखीकरण कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले डेँगु, स्क्रबटाइफसजस्ता रोगबाट बच्न नगरपालिकाले विशेष साबधानी अपनाउने बताउनुभयो । उहाँले मानिसलाई जनचेतना अभिबृद्धि गर्न र यसबाट बच्न सबै जनप्रतिनिधिलाई परिचालन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्मालगायतले आफ्ना भनाई राख्नु भएको थियो ।













