भाद्र १३, पाल्पा
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) पाल्पाले क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सोमप्रसाद पाण्डेलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ । सोमबार तानसेनमा पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नंं २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको हो । सिफारिसमा परेका पाण्डे नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।
पाण्डेलाई उम्मेदवारका लागि सिफारिस गरिएको जिल्ला कमिटी सदस्य एवं पाटी प्रचार विभाग प्रमुख पदम गैरेले जानकारी दिए । पाण्डे अहिले पनि पाल्पा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्य छन् ।
पाण्डे २०५१, २०५६, २०७० र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट विजयी भएका थिए ।
समाजवादी पार्टीले पाण्डेलाई सिफारिस गरेपनि ५ दलीय गठबन्धनमा भने सहमति जनाई सकेको छैन् ।
पाल्पा क्षेत्र नंं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसले पनि दावी गर्दै आएको छ ।
त्यस्तै एकीकृत समाजवादीको बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ भने प्रदेशतर्फ महिला अल्पसंख्यकमा रमा घर्तीमगर, दलितमा बलबहादुर सुनार र सर्वजित विश्वकर्मालाई सिफारिस गरेको प्रचार विभाग प्रमुख गैरेले जानकारी दिए ।













