भाद्र १२, पाल्पा
तानसेन नगरसरकारको १०० दिनको कार्य प्रगति विवरण सार्वजनिक गरिएको छ । श्निवार पत्रकार भेटघाट गर्दै तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले १५ बुदे कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले घाटा बजेट निर्माणलाई निरुत्साहित गर्दै राजस्व संकलनलाई प्राथमिकता दिएर व्यवस्थापकीय कार्यक्रमहरुलाई १०० दिनमा प्राथमिकता दिएको बताउनुभयो । उहाँले यस अवधिमा तानसेन नगरपालिकाको १ नगरसभा र ९ वटा नगरकार्यपालिकाको बैठक सम्पन्न भएको बताउनुभयो । यस्तै खर्च व्यवस्थापनमा मितव्ययिता अपनाईएको, विभिन्न ४१ वटा समिति तथा उपसमितिहरु गठन गरि कार्यसम्पादन अगाडी बढाइएको, ‘ग’ वर्गको अपाङ्गता कार्ड भएका व्यक्तिहरुलाई मासिक रु ५००।– भत्ता उपलब्ध गराउने, न्युनतम २० युनिटसम्म विद्युत खपत गर्ने तानसेन नगरबासीको शुल्क नगरपालिकाबाट भुक्तानी गरिदिने जस्ता कार्य गरेको बताउनुभयो । यस्तै समुदायस्तरबाट सञ्चालित लघु प्रकृतिका लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युत महशुलमा २५ प्रतिशत अनुदान दिने, समुदायमा पछाडि परेका जाति वर्ग, अल्पसंख्यक र दलित समुदायको र ६० वर्ष नाघेका अविवाहित र एकल जीवनयापन गरेका पुरुषहरुलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बीमा शुल्क नगरपालिकाबाट भुक्तानी गर्ने कार्य गरेको बताउनुभयो ।
१ सय दिनको कार्यप्रगति विवरणमा नियमित कार्यक्रमहरु छोरी शिक्षा कार्यक्रम, बीमा कार्यक्रमहरुलाई निरन्तरता दिइएको, वर्षौदेखि वास्ता नगरिएको नदी तथा खोलाजन्य निर्माण सामाग्रीको राजश्व संकलनमा चासो लिइ गत आ.व.मा नै ४२ लाख ९५, हजार ८ सय ८ रुपैयाँ राजश्व संकलन गरेको बताउनुभयो । सोही अवसरमा तानसेनका प्रवक्ता यादवसिंह कार्कीले यस आवको दोस्रो बैठकले गरेका निर्णयहरु समेत सार्वजनिक गर्नुभएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले जनप्रतिनिधिहरुलाई आफ्नो धरातल सम्झेर भोली तानसेनलाई कहाँ पु¥याउँने भन्ने भिजन सहित अगाडी बढ्न सुझाव व्यक्त गर्नुभयो । उहाँले न्यूनतम सुधारका लागि प्रशासनिक व्यवस्थापन तथा नगरको खानेपानी व्यवस्थाका लागि ध्यान दिनुपर्ने रानाले बताउनुभयो । यस्तै किरण कौशलले तानसेनको भविष्यको मोडल पहिचान गरि बजारमा भएको मूल्य वृद्धि रोक्न बजार अनुगमनलाई ध्यान दिनुपर्ने सुझाव राख्नुभयो । पत्रकार कृष्ण कार्कीले सार्वजनिक सम्पत्तिको सुरक्षामाध्यान दिन र पर्यटकीय गन्तव्यहरुलाई व्यवस्थापन गर्नुपर्ने बताउँदा देव पचभैयाले राजस्व संकलनमुखी भन्दा पनि परिणाममुखी कामहरु गरेर देखाउनुपर्ने समय आएको बताउनुभयो ।
पत्रकार कृष्ण पोखरेलले साँस्कृतिक शहर तानसेनलाई विकास गर्न घोषणा पत्रमा गरिएका प्रतिवद्धता पुरा गर्न र शहर सौन्दर्यकरणमा ध्यान दिन आग्रह गर्नुभयो । यस्तै पत्रकार यज्ञमूर्ती तिमिल्सिनाले नगर सरकार गैरसरकारी संस्थामुखी बन्न नहुने बताउँदै छाडा मानिसहरुको व्यवस्थापन गर्न सुझाव व्यक्त गर्नुभयो ।













