नवलपुर लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको हो ।
‘सोमबारसम्म त्रिवेणीको गण्डक ब्यारेजमा १८ वटा ढोकामात्रै खोलिएको थियो,’ उनले भने, ‘नारायणी नदीको जलाधार क्षेत्रमा ठूलो पानी परिरहेको सूचना प्राप्त भएसँगै सोमबार रातिदेखि ब्यारेजका सबै ढोका खोल्न लगाइएको छ ।’ गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले बतानुभयो।
नारायणी नदीको देवघाटस्थित बाढीमापन केन्द्रकाअनुसार अहिले नारायणीमा पानीको सतह सात दशमलब एक मिटर देखाए पछि सतर्कता तह र नौ मिटरलाई खतराको तहको रुपमा लिइन्छ ।
नारायणीमा पानीको सतह बढेसँगै नवलपुर तथा चितवनका नदी तटीय क्षेत्रका बस्तीहरु जोखिममा पर्ने गरेका छन् । नारायणीमा पानीको सतह बढ्दै गएपछि आसपासको क्षेत्रमा डुबान र कटानबाट सुरक्षित रहन सर्वसाधारणलाई सूचना जारी गरिएको छ । उनले अहिले नारायणीमा पानीको बहाब सामान्य रहेको बताए। नवलपुरको गैँडाकोटसहित पाँच वटा स्थानीय तह नारायणीको जोखिममा रहेका छन् ।
त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर भारतले सिँचाइका लागि पानी लैजाने गरेका छन । हिउँदमा ब्यारेजका अधिकांश ढोका बन्द गरेर भारतले दुई वटा नहरमार्फत बिहार र उत्तर प्रदेशमा सिँचाइ गर्दै आएको छ भने बर्खामा ब्यारेजका ढोका खोल्दा दुवै नहरमा पानी जाँदैनन् ।












