पाल्पा — पाल्पाको रम्भा गाउँपालिकामा वैशाख ३१ गते अपरान्ह स्थगित भएको मतगणना कार्य शुक्रबारबाट गरिने भएको छ । निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।
आयोगले प्रशासनलाई विशेष सुरक्षा व्यवस्था गरेर भए पनि मतगणना गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार जिल्ला निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापन गर्न लागिसकेको र कर्मचारी व्यवस्थापन हुनासाथ मतगणनाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउने जानकारी दिनुभयो ।
वैशाख ३१ गते रम्भा गाउँपालिका–५, ताहुँको मतगणना सकिएर जोड्ने क्रममा ७४ फर्जी मत भेटिएपछि मतगणना रोकिएको थियो । बुधबार आयोगले पत्र पठाएर मतगणना गर्न निर्देशन दिएपछि बिहीबार कर्मचारी व्यवस्थापन र शुक्रबार सकेसम्म बिहान मतगणना गरिने जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताउनुभयो ।













