पाल्पा, असार १९ — रिब्दिकोट गाउँपालिका–६ स्थित बेसराभन्ज्याङ खेलमैदानमा नवजागृति बाल क्लबको आयोजनामा दोस्रो क्लबस्तरीय खुला पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको छ।
क्लबकी अध्यक्ष सुस्मा खाम्चाको अध्यक्षता, वडा नं. ६ का वडा सदस्य भरतबहादुर जिसीको प्रमुख आतिथ्यता तथा वरिष्ठ सल्लाहकार कृष्ण नेपालीको विशेष आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो।
प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा आलमदेवी युवा क्लबले धुस्तुङ देउराली युवा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
खुला पुरुषतर्फ प्रथम हुने टोलीले रु. २० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी द्वितीय हुने टोलीलाई रु. १५ हजार, तृतीयलाई रु. १० हजार तथा सान्त्वना हुने टोलीलाई रु. ५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताको दर्ता शुल्क रु. २,२०५ निर्धारण गरिएको क्लबकी अध्यक्ष सुस्मा खाम्चाले राष्ट्रिय न्युजलाई जानकारी दिनुभयो।
भेट्रान्सतर्फ प्रथम पुरस्कार रु. १० हजार तथा द्वितीय पुरस्कार रु. ७ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष खाम्चाले बताउनुभयो।
"स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल" भन्ने मूल नारासहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष खाम्चाको भनाइ छ। उहाँका अनुसार प्रतियोगिताको दर्ता अवधि असार १८ देखि २० गतेसम्म रहेको छ भने हालसम्म १३ वटा क्लबले सहभागिताका लागि दर्ता गरिसकेका छन्।













