नियतिवाद त्यो दर्शन हो जस्ले सांसारिक घटनाहरू र मानिसका क्रियाकलापहरू प्रकृतिका नियमअनुसार पहिले नै निर्धारित हुन्छन् भन्ने दृष्टिकोण अँगाल्दछ । यसलाई निर्धारणवाद वा निश्चयवाद (Determinism) पनि भनिन्छ । नियतिवादको विपरित दर्शन अनियमितवाद (Indeterminism) हो । यसले घटनाहरू प्रकृतिको नियमअनुसार होइन, अप्रत्यासित रूपमा घट्छन् भन्ने दृष्टिकोण अँगाल्दछ । प्राचीन पौरस्त्य समाजमा सबैभन्दा पहिले नियतिवादको उल्लेख गर्ने ग्रन्थ श्वेताश्वतर उपनिषद् हो । तर त्यसमा यसबारे कुनै व्याख्या विश्लेषण गरिएको छैन । यसलाई कालवाद, स्वभाववाद, यदृच्छावाद, पञ्चभूत, योनी अथवा पुरुषको समकक्षमा राखी सृष्टिको मूल कारण मान्न सकिन्छ कि सकिँदैन भनी प्रश्न सोधिएको मात्र छ (दामोदरन, २०१८: ५३) ।
प्राचीन पौरस्त्य समाजमा नियतिवाद
पौरस्त्य समाजमा सबैभन्दा पहिले नियतिवादबारे व्याख्या विश्लेषण गर्ने दर्शन आजीवक हो । बौद्ध ग्रन्थहरू विशेष गरी भगवती सूत्र र सामन्नफल सुत्तमा यस दर्शनबारे उल्लेख गरिएको छ । आजीवक विचारका प्रतिपादक मख्खली गोशाल हु्न् । उनी बुद्ध र महावीरका समकालीन भएपनि उनीहरूभन्दा जेठा थिए । गोशाल भन्दछन् कि प्रकृतिमा प्रत्येक घटनाहरू पूर्व निर्धारित प्राकृतिक नियमअनुसार घट्दछन् । कोइला कालो हुने, सूर्य पूर्वबाट उदाउने, दिनपछि रात हुने, नदीहरू ओरालो सतहतर्फ बग्ने, बाफ उचाइतर्फ उड्ने आदि प्राकृतिक घटनाहरू सबै प्रकृतिद्वारा निर्धारित गतिविधि हुन् । यस जगत् मा मानिसलगायतका सम्पूर्ण प्राणीहरूको जीवन प्रणाली पनि प्राकृतिक नियमअनुसार नै निर्धारित हुन्छ । कुनै पनि व्यक्तिले प्रकृतिप्रदत्त औकात र क्षमताभन्दा बढी केही गर्न सक्दैन ।
गोशाल तत्कालीन समाजका सामन्ती मूल्य, मान्यता र धार्मिक अन्धविश्वासयुक्त गतिविधीका विरोधी थिए । उनले तिनै कुराको विरोधमा नियतिवादलाई जन्म दिएका हुन् । नियतिवादले ईश्वरको भक्ति र कर्मकाण्डीय क्रियाकलापविरुद्ध सशक्त आवाज उठाएको छ । गोशाल भन्दछन् कि असल धार्मिक कर्म गरेमा पुण्य मिल्छ र अधार्मिक कार्य गरेमा पाप लाग्छ भन्ने त्यस्तो कुनै कुरा हुँदैन । हुने कुरालाई जति प्रयत्न गरे पनि रोक्न सकिँदैन, त्यो भएरै छोड्छ भने नहुने कुरालाई कसैगरी हुने बनाउन सकिँदैन । कुनै घटनालाई न त घटाउन सकिन्छ न त बढाउन नै सकिन्छ (रेग्मी, २०७७ : ४१) । पौरस्त्य समाजमा जुन समयमा आजीवकहरूले नियतिवादलाई अस्तित्वमा ल्याए, त्यतिखेर यो धर्मसँग जोडिएको थिएन । अध्यात्मिकहरूका दृष्टिमा यो नास्तिक मत थियो । नास्तिक मत भनेको त्यस समयको भौतिकवादी विचार हो । आजीवक विचारबारे विशेष अध्ययन गरेका ए.एल. बाशमले आजीवकवाद जैन र बौद्ध जस्तै कर्मकाण्डवाद र ब्रह्मवाद विरोधी नास्तिक चिन्तन भएकोे र त्यसले परमाणुवादलाई पनि अँगालेको विचार व्यक्त गरेका छन् (भुसाल, २०७७ : २५१) । वायु पुराणमा आजीवक र तिनको विचारको विरोध गरिएको छ । त्यहाँ भनिएको छ, “आजीवकहरू धार्मिक सवालका विषयमा भ्रम छर्ने व्यक्ति हुन् । तिनीहरू शूद्र वर्णका मजदुर र कारीगरका प्रतिनिधि हुन् (दामोदरन, २०१८:९७) ।”
पाश्चात्य जगत्मा नियतिवाद
पाश्चात्य समाजमा पनि प्राचीन पौरस्त्य समाजमा झैँ प्रकृतिका नियमअनुसार नै निश्चित क्षेत्रका गतिविधिहरू निर्धारित हुन्छन् भन्ने नियतिवादी दृष्टिकोण अपनाइएको पाइन्छ । यस विचारको प्रादुर्भाव सबैभन्दा पहिले युनानमा रोमन सभ्यताको विकाससँगै भएको थियो । हिप्पोक्रेटस र एरिस्टोटलजस्ता विद्वान्हरूले यस विचारलाई अस्तित्वमा ल्याएका थिए । आफ्नो पुस्तक ‘एक वायु जल र स्थान’ मा हिप्पोक्रेटस भन्दछन् कि वायु, जल र स्थान विशेषले नै मानव बसोबासको क्षेत्र निर्धारण गर्दछन् । मानिस त्यस ठाउँमा बस्छन् जहाँ जल प्रचुर मात्रामा उपलब्ध हुन्छ, जहाँ वायु विषम हुँदैन र जहाँ माटो उर्वर हुन्छ । एरिस्टोटले शित प्रदेशका मानिसहरू साहसी र उष्ण प्रदेशका मानिसहरू डरपोक हुने बताउँछन् । शित प्रदेशका मानिस शासक र उष्ण प्रदेशका शासित हुने त्यसै भएर हो । पुनर्जागरणपछिका जर्मन दार्शनिक कान्टले पनि एरिस्टोटलका विचारलाई समर्थन गर्दै उष्ण प्रदेशका मानिस सुस्त र डरछेरुवा हुने र शितप्रदेशका मानिसहरू साहसी र दृढविचारका हुने बताएका छन् । प्रशिद्ध मानवशास्त्री डार्विनले आफ्नो पुस्तक ‘जातिहरूको उत्पत्ति’ ( Origin of Species) मा प्राकृतिक छनोटको सिद्धान्त अघि सारेका छन् । यसमा उनी भन्दछन् कि जीवको उद्विकासमा प्राकृतिक कारणकै प्रमुख भूमिका हुन्छ । जुन जीवजन्तुहरूले प्रकृतिको हेरफेरसँग अनुकूलता स्थापित गर्न सक्छन्, तिनले आफ्नो अस्तित्व कायम गर्दछन्, जस्ले सक्दैनन् ती बढारिन्छन् । युरोपमा पछिल्लो चरणमा नियतिवादको जगमा पर्यावरणवाद (Environmentalism) विकास हुन गएको देखिन्छ ।
नेपाली समाजमा नियतिवाद
नेपाली समाजमा नियतिवादको व्याख्या धार्मिक दृष्टिकोणबाट गरिएको छ जस्लाई धार्मिक नियतिवाद (Theological Determinism) भनिन्छ । जगत् का सम्पूर्ण घटनाहरू र जीवजन्तुका गतिविधिहरूलाई अदृश्य ईश्वरीय शक्तिले निर्देशित गर्दछ भन्ने दृष्टिकोण धार्मिक नियतिवादले अँगाल्छ । यस खालको दृष्टिकोण हिन्दु, ईशाइ, इश्लाम र यहुदीजस्ता विश्वका सबै खालका धर्म दर्शनहरूमा पाइन्छ । धार्मिक नियतिवादले मानिसको स्वतन्त्र चाहना वा इच्छाद्वारा कार्य दिशाको निर्धारण हुँदैन भन्ने विचार अघि सार्दछ । यसले के कुरामा जोड दिन्छ भने आफूलाई परिस्थितिले प्रदान गरेका सामान्य कार्य गर्नुका अतिरिक्त मानिसले कुनै वस्तुको प्राप्तिका लागि प्रयत्न गर्नु बेकार छ किनभने नियतिमा भएमा मात्र वस्तु उपलब्ध हन्छ । कुनै काम सफल भएन भनी चिन्तित हुनुपर्ने आवश्यकता छैन, न त कुनै कामले राम्रो परिणाम दिँदा पनि यो काम मैले गरेको हूँ, यो मेरो प्रयत्नबाट भएको हो भनी अभिमान गर्नु उचित छ । यस जगत् मा कोही कर्ता छैन । कर्ता नभएपछि कर्मको सवाल नै आउँदैन ।कतिपयले धार्मिक नियतिवाद र भाग्यवाद (Fatalism) लाई एकै अर्थमा लिएका छन् र एकलाई अर्काको अर्थ वा प्रसङ्गमा प्रयोग गर्दै आएका छन् । यी दुई दृष्टिकोणहरू झण्डै उस्तै देखिन्छन् पनि । तर यिनमा झिनो अन्तर छ । मानिसको भाग्यमा जस्तो छ, त्यहीअनुसारको उसको कर्म हुन्छ भन्ने दृष्टिकोण भाग्यवादले अँगाल्दछ । हरेक व्यक्तिको भाग्य पहिले नै ईश्वरीय शक्तिले तोकेको हुन्छ भनी विश्वास गरिन्छ । नेपालको ग्रामिण परिवेशमा त्यस ईश्वरीय शक्तिलाई ‘भावी’ भन्ने गरिन्छ । भावीले लेखेको कसैले टार्छु भने पनि टारिँदैन भनेर भनिन्छ । मरेको मानिसको खप्परमा जुन बाङ्गाटिङ्गा रेखा हुन्छन्, त्यसलाई भावीले लेखेको अक्षर भन्ने गरिन्छ । मानिसको कर्म निर्धारणमा व्यक्तिगत प्रयासलाई नजरअन्दाज गरिन्छ । शिशु जन्मेको छैटौँ रातमा सुत्केरी आमा र शिशु सुत्ने कोठामा रातो मसी र कलम राख्ने संस्कार नेपालका कतिपय जातिहरूमा छ ।

जनविश्वासअनुसार त्यस रात भावीले आएर शिशुको निधारमा उसको भाग्य लेखिदिन्छ भन्ने ठानिन्छ (विष्ट, २०२० : ७५) । भाग्यवादीहरू भन्दछन् कि यस्तो भएन उस्तो भनेर गुनासो गर्नु व्यर्थ छ, जे हुनु छ, त्यो भएर छाड्छ । नहुने कार्य जति प्रयास गरे पनि गर्न सकिन्न । यसरी भाग्यवादले मानिसलाई दैवी शक्तिको निगाहामा जिम्मा लगाउँछ । भाग्यवादीहरू आफ्नो मिहेनतद्वारा सफलता प्राप्त गर्न र जीवनको स्तर उकास्न कुनै प्रयास नै नगरिकन लाभ प्राप्त गर्ने चाहना राख्दछन् । हुनत नेपाली समाजमा भाग्यवादसँगै यो दृष्टिकोणको विरोधी विचार पनि रहेको पाइन्छ । भाग्य छ भन्दैमा डोकोमा दूध दुहुन सकिन्न भन्ने उखान गाउँघरमा प्रचलित छ । तर भाग्यवाद विरोधी विचार व्यवहारिकतामा लागु भएको देखिँदैन । समाजमा भाग्यवादकै प्रभाव बढी देखिन्छ । शुद्र जातीय परिवारमा जन्मिएकाहरुले आफ्नो भाग्य नभएकाले नै अन्य जातिमा जन्मन नपाएको कुरा गर्दछन्, महिलाहरू लोग्नेले दोस्रो विवाह गर्दा आफू सौता हुने भाग्य लिएर जन्मेको बताउँछन्, निर्धनहरू अभाव र गरीवीको जीवन बिताउने सवाल आफ्नो भाग्यमा भएको भनी सन्तोष प्रकट गर्दछन् आदि ।
धार्मिक नियतिवाद र भाग्यवाद दुवैको स्रोत ईश्वरीय शक्ति भएकाले यिनीहरू एक आपसमा अन्तर्सम्बन्धित छन् । धार्मिक नियतिवादले मानिसको वर्तमान अवस्था उसको विगतको कर्मको परिणाम हो अथवा पूर्व जुनीको कमाइ हो भनी भन्दछ । मानिसले अहिले जे जस्तो दानपुण्य गर्दछ अथवा धार्मिक आचरण गर्दछ, त्यहीअनुसारको प्रतिफल परलोकमा पनि पाउँछ भन्ने मान्यता यसले राख्दछ । पुरोहितलाई दान दक्षिणा दिएमा, ईश्वर भक्ति प्रकट गरेमा स्वर्गमा स्थान पाइन्छ अन्यथा नरकको सास्ती बेहोर्नु पर्दछ भनी यसले भन्दछ । भाग्यवादले आफ्नो भाग्यमा लेखेको भए पाइन्छ, नभए पाइँदैन भन्दछ । धार्मिक नियतिवाद पारलौकिक शक्तिसँग गाासिउको छ भने भाग्यवाद अज्ञानता र अन्धविश्वाससँग गाँसिएको छ ।
पौरस्त्य समाजमा पुराण, महाभारत, रामायण र गीताजस्ता ग्रन्थहरू र धर्मशास्त्रहरू लेखिन थालेपछि नै धार्मिक नियतिवाद अस्तित्वमा आएको हो । त्यतिखेरबाट नै हिन्दु पण्डितहरूले नियतिवादलाई धर्म र ईश्वरीय शक्तिसँग जोडेका हुन् । पौराणिक युगमा पुराण, महाभारत र रामायणजस्ता ग्रन्थहरूले सार्वजनिक सञ्चारका माध्यमको भूमिका निभाउने गरेका कारण ती आम जनताको मस्तिस्कमा प्रभाव जमाउन सफल भए । आज पनि नेपाली समाजमा हिन्दु पण्डितहरूले तिनै ग्रन्थको माध्यमबाट सर्वसाधारणमा धार्मिक नियतिवादको जहर फैलाउने काम गरेका छन् । विभिन्न पुराणहरूमा धार्मिक ग्रन्थहरूमा नियतिले मानिसको जीवनमार्ग निर्देशित गर्दछ भन्ने खालका विचारहरू फैलाइएका छन् ।
धार्मिक नियतिवादलाई जनतामाझ विस्तार गर्ने ग्रन्थमध्येको एउटा ग्रन्थ गरुड पुराणको प्रेत खण्ड पनि हो जुन अझै काजक्रियाका अवसरमा मृतकका परिवारलाई सुनाउने गरिन्छ । यसमा मरेको मानिस प्रेतमा परिणत हुने र काजक्रिया गरेर पिण्डदान गरी त्यसले पूर्ण शरीर प्राप्त गर्ने र त्यसपछि पापपुण्यको बहीखाता राख्ने यमराजको कर्मचारी चित्रगुप्तकहाँ लगेर पाप पुण्य के गरेको छ, त्यो हेरेर स्वर्ग नरक कहाँ पठाउन पर्ने हो पठाउने कुराको उल्लेख गरिएको छ । गरुड पुराण यस्तो ग्रन्थ हो जस्ले काल्पनिक नरक र त्यहाँको भयानक यातना सुनाउँदै क्रियापुत्रीलाई आतङ्कित बनाउँछ । जसरी एउटा अक्षिक्षित, सोझोसिधो र निर्दोष गाउँलेलाई प्रहरीले एकाएक कसैको हत्याको अभियोगमा गिरफ्तार गरी निर्मम यातना दिँदा ऊ जे पनि दिन तयार हुन्छ, त्यसै गरी क्रियापुत्री गरुड पुराणमा वर्णित नरक यातनाको भयानक कथा सुनेपछि पुरोहितलाई जे दिन पनि तयार हुन्छ (पौड्याल, २०६६ : ४४) । यो ग्रन्थ वास्तवमा धार्मिक नियतिवादी आतङ्कपूर्ण काल्पनिक घटनाहरूको सँगालो हो जस्ले जनतामा मानव जीवनका गतिविधिको र क्रियाकलापको फैसला गर्ने अधिकार ईश्वरीय शक्तिमा हुन्छ भन्ने प्रदूषित विचार फैलाउँछ ।
गीताले पनि मानिसलाई धार्मिक नियतिवादकै दिशातर्फ डो¥याउँछ । महाभारत ग्रन्थको भीष्म पर्वको १८ औँ अध्यायमा यसलाई स्थान दिइएको छ । गीताको भनाइअनुसार वर्णव्यवस्था ईश्वरीय देन हो । चौँथो अध्यायको १३ औँ श्लोकमा कृष्ण भन्दछन् कि यो व्यवस्थाको निर्धारण स्वयं उनले गरेका हुन्, तर त्यसलाई भत्काउने क्षमता उनीमा छैन । यसरी वर्ण व्यवस्थालाई परिवर्तन गर्न असमर्थता प्रकट गर्नुको तात्पर्य यो व्यवस्था समाजको स्थायी रूप हो र कुनै वर्णमा जन्म लिनु व्यक्तिको नियतिको सवाल हो भनी अवगत गराउनु हो । गीताले सत्व, रज र तम मानिसका स्वभाविक र जन्मजात गुणहरू भएकाले वर्ण विभाजन स्वेच्छाचारी ढङ्गले निर्माण गरिएको नभै मानिसका जन्मजात प्राकृतिक गुणका आधारमा गरिएको हो भनी त्यसको औचित्यता पुष्टि गर्ने प्रयास गर्दछ । कृष्ण भन्दछन् कि हरेक व्यक्तिले आफ्नो वर्णका लागि निर्धारित गरिएका कर्तव्यको मात्र पालना गर्नुपर्दछ । वर्णअनुसार निर्धारित गरिएका कार्यलाई उक्त वर्णको धर्म भनिएको छ । गीताका ठाउँठाउँमा आ–आफ्ना कर्तव्य (स्वधर्म) को पालनाभन्दा उच्च कुरो केही छैन र तिनको उल्लङ्घनभन्दा अरू कुनै घृणित कार्य छैन भनी सजग गराइएको छ । गीतामा अभिव्यक्त यस प्रकारको धार्मिक नियतिवादले समाजमा स्थायी विभेद सृजना गरेको छ । यसले जवर्जस्ती जातीय मयार्दाका सवाल अघि सारी समाजलाई उच र नीचमा र तल्लो जात र उपल्लो जातमा विभाजन गरेको छ ।
कतिपय गीताका अनुयायीहरू गीताले कर्म सिद्धान्तलाई आत्मसात गरेको छ भनी त्यसलाई मुक्त कण्ठले प्रशंशा गर्दछन् । मानिसलाई कर्ममा उत्प्रेरित गर्ने नै गीताको खास अभिप्राय हो भनिएको छ । तर गीताका उपदेशक श्रीकृष्ण कर्म गर्नका लागि अर्जुनलाई उत्प्रेरित गर्न प्रयासरत रहे पनि धेरै ठाउँमा धार्मिक नियतिवादका पक्षधर देखिन्छन् । दोस्रो अध्यायका ४७ औँ र ४८ औँ श्लोकहरूमा कृष्ण अर्जुनलाई निस्काम कर्म गर्न प्रेरित गर्दछन् । उनी अर्जुनलाई के भन्दछन् भने मानिसलाई केवल कर्म गर्ने अधिकार हुन्छ, त्यसको फलमा कुनै अधिकार हुँदैन (कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन) । त्यसैले उनी अर्जुनलाई कुनै फलको आशा नराखी अथवा कार्यसिद्धि र असिद्धिको परवाह नगरी कर्म गर्न उपदेश दिन्छन् । त्यसरी नै श्रीकृष्ण पाचौँ अध्यायको दशौँ श्लोकमा कर्महरू परमात्मालाई अर्पण गर्ने आसक्तिरहित व्यक्ति कमलको पातमा पानी नभएझैँ पापविहीन हुन्छ भन्दछन् । अठारौँ अध्यायको साठीऔँ श्लोकमा त अझ के भन्न पुग्छन् भने पूर्व जुनीका कर्मका कारण नै मानिस वर्तमानको कर्ममा सरिक हुने गर्दछ । वास्तवमा यी सबै भनाइहरूको तात्पर्य के देखिन्छ भने मानिसले आफ्नो कर्मका आधारमा प्रतिफल पाउँदैन, ईश्वरका निगाहमा प्रतिफल प्राप्त गर्दछ । गीतामा अभिव्यक्त यस प्रकारको धार्मिक नियतिवादी चिन्तनले मानिसलाई गैरजिम्मेवार बनाउँछ । जब मानिसले आफूले गर्ने कर्ममा कुनै मूल्य हुँदैन र यो ईश्वरीय शक्तिको विवेकमा भर पर्दछ भन्ने सोच्दछ, तब उसमा कर्म गर्ने जाँगर आउँदैन । ऊ प्रगतिका लागि अथवा समृद्धिका लागि प्रयत्न गर्नतर्फ लाग्दैन, ईश्वरभक्तितर्फ लाग्छ जुन भौतिक दृष्टिबाट अनुत्पादक हुन्छ । धार्मिक नियतिवादले मानिसलाई आफ्नो जिम्मेवारी दैवीशक्तिमाथि पन्छाउने बनाउँछ ।
महाभारतका अन्य नीति कथाहरूमा पनि नियतिवादलाई स्थान दिइएको छ । महाभारतको आदिपर्वमा भीष्म युधिष्ठिरलाई इन्द्र र कश्यप गोत्रका एक प्राह्मणको कथा सुनाउँछन् । कथावस्तुअनुसार प्रशस्त धन सम्पत्तिले अन्धो भएको एक जना व्यापारीले कश्यप गोत्रका ती ब्राह्मणलाई रथले कुल्चेर घाइते बनाउँछ । त्यतिखेर ब्राह्मणलाई कसैले न्याय दिँदैन र शोकले रन्थनिएर यस्तो समाजमा बाँच्नुभन्दा मर्नु श्रेयस्कर छ भन्ने सोची आत्महत्या गर्न उद्यत हुन्छन् । इन्द्रलाई यो कुराको जानकारी हुन्छ र प्राण त्याग्न लागेका ब्राह्मणलाई रोक्न उनी श्यालको भेषमा ब्राह्मणसमक्ष प्रस्तुत हुन्छन् । श्यालरूपी इन्द्र के भन्न पुग्छन् भने ब्राह्मणको जुनी पाउनु नियतिको कुरा हो । त्यस्तो महवपूर्ण जुनीलाई सानातिना समस्या परे भन्दैमा समाप्त गर्न हुँदैन । उनी के पनि भन्दछन् भने हिजो उनी ब्राह्मणको जुनीमा थिए, तर चिन्तक अथवा तार्किक भएर धर्मशास्त्रमाथि संशय प्रकट गर्ने र प्रश्न उठाउने गरेकै कारण त्यस पापको फलस्वरूप पशु जुनी लिनुपयो । यसरी यस कथामा वर्तमान अवस्था पूर्व जन्ममा गरेको कार्यको परिणाम हो भन्ने खालको नियतिवादी अभिव्यक्ति प्रकट गरिएको छ ।
हिन्दुधर्मले फैलाएको धार्मिक नियतिवादजस्तोे चिन्तनले नेपाली समाजलाई अघि बढ्नमा अवरोध पुयाएको छ । धर्मप्रति आस्था प्रकट गर्ने सर्वसाधारण मानिसमा धर्मकर्म गरेमा ईश्वर खुशि हुन्छन् र नियति चम्किन्छ भन्ने विश्वासले गहिरोगरी जरा गाडेको छ । हिन्दुधर्मकै प्रभावका कारण आज मानिसहरू धार्मिक नियतिवादका समर्थक भएका छन् । धार्मिक नियतिवाद र भाग्यवाद एक किसिमका मानिसका उत्प्रेरणालाई मार्ने बिष हु्न् । जसरी नदीले आफ्नो मार्ग आफैँ बनाउँछ, त्यसरी नै मानिससँग बाधाव्यवधान पन्छाउँदै आफ्नो कार्यलाई सफलताको मञ्जिलमा पु¥याउने स्वतन्त्र चाहना (Free Will) हुन्छ । मानिस एक गतिशील प्राणी हो । विभिन्न काम गर्नका लागि उसले आफ्ना साथमा विभिन्न इन्द्रियहरू लिएर जन्मेको हुन्छ । आफ्नो जीवन उन्नत बनाउनका लागि, आफ्ना परिवारजनको व्यवस्थाका लागि र समाज र देशका लागि मानिसले सकेसम्म बढी यत्न गर्न चाहन्छ । तर धार्मिक नियतिवादले मानिसको गतिमा लगाम लगाउँछ र ईश्वरीय शक्तिको निगाहमा अथवा भाग्यमा भरपर्ने बनाउँछ । यसले मानिसको स्वतन्त्र चाहनामा बन्देज लगाएर पङ्गु बनाउँछ ।
धार्मिक नियतिवादले मिहेनत र पुरुषार्थको कुनै महत्त्वपूर्ण हुँदैन भनी भन्दछ । मानिसका लागि समय वर्तमान हुन्छ । आफ्नो अधिकार र नियन्त्रणमा भएको समय यही हो । भूतकाल वितिसकेको हुन्छ, त्यो फेरि फर्केर आउने कुरा हुँदैन । भविष्य अन्धकारमय हुन्छ । भविष्यमा हामी को कहाँ पुग्छौँ भन्न सकिन्न । त्यसैले पुरुषार्थी व्यक्तिले उपयोग गर्ने समय वर्तमान नै हो । तर धार्मिक नियतिवादले विगतको कर्मअनुसार वर्तमानको कर्म निर्धारण हुन्छ भनी वितिसकेको समयको कर्ममा मानिसलाई अल्मल्याउँछ र पश्चातापमा दिन बिताउने बनाउँछ । यसले वर्तमानका लागि होइन, नदेखिएको भविष्यका लागि अनुत्पादक खालको ईश्वर भक्तिमा लाग्न प्रेरित गर्दछ ।
धार्मिक नियतिवाद हाम्रो समाजका विभिन्न कालखण्डमा रहँदै आएको छ भन्ने कुरा हामी ऐतिहासिक परिघटनाबाट बुझ्न सक्छौँ । नेपाल एकीकरणका समयमा बाइसी चौविसी राज्यहरूमाथि पृथ्वीनारायण शाहले विजय प्राप्त गरे । ती राज्यहरूमा भएको आपसी बैमनस्यताबाट उनले फाइदा उठाए । खुँडा, खुकरी र तलवारका बलमा युद्ध गर्ने परम्परा भएको समयमा बनारस गएर आधुनिक हातहतियार बन्दुक र राइफल खरिद गरी ल्याए । उनले खस, मगर, जनजातिलाई तिनीहरूको स्वभावगत आचरणका आधारमा वर्गीकरण गरी युद्धमा सामेल गराए । गोरखालाई विशाल नेपाल राज्यमा परिणत गर्नमा उनको चातुर्य रणकौशलता र सामथ्र्य जिम्मेवार छ । तर स्वयं पृथ्वीनारायणलाई नेपाल राज्यको निर्माण भएको आफ्नो सामथ्र्यका कारणले नभएर गुरु गोरखनाथका आशिर्वादले भएको हो भन्ने विश्वास थियो । त्यही विश्वासका कारण गोरखनाथपन्थका अनुयायीहरूलाई गुठिको व्यवस्था गरी तिनीहरूको जीविकालाई सुनिश्चित बनाए । त्यतिखेर गोखनाथ सम्प्रदायका भगवन्तनाथ सल्यानमा बस्दथे । पृथ्वीनारायण शाहले उनलाई नेपालभरका योगीहरूको मण्डल्याइँ प्रदान गर्नुका साथै योगीहरूको मुद्दामामिलाबाट उठ्ने रकम र १४ जातका घरबाट वार्षिक १ आनाको दस्तुर र ती १४ जातका घरमा योगीहरूले भोजन गर्न पाउने व्यवस्था मिलाइदिएका थिए (रेग्मी, २०८० : २१८) । पृथ्वीनारायण शाह त पुराना जमानका धार्मिक व्यक्ति थिए । समयअनुसार आफ्नो पराक्रममाभन्दा नियतिमा उनले विश्वास गर्नु स्वभाविक पनि थियो । तर आजभोलिका इतिहासकारहरूले समेत पृथ्वीनारायण शाहले विजय प्राप्त गर्नुमा उनले पाएको गोरखनाथको कृपा र ईश्वरीय शक्ति हो भनी व्याख्या विश्लेषण गर्ने गर्दछन् । पृथ्वीनारायणको जीवनी प्रस्तुत गर्दा गोखनाथले दही खान दिँदा पोखिएर खुट्टामा पर्दा उनले टेकेको ठाउँमा विजय पाएका मिथकहरू विद्यार्थीलाई सुनाउँछन् । शिक्षित व्यक्तिमा र विद्यार्थीलाई आँखा देखाउने शिक्षित व्यक्तिहरूमासमेत नियतिवादले प्रभाव जमाउनु भनेको विडम्बनाको विषय हो ।
साच्चै भन्नु पर्दा धार्मिक नियतिवादले हाम्रो वर्तमान समाजलाई अतिनै हानी नोक्सानी पु¥याएको छ । नेपाली समाजमा विभेदको पर्खाल खडा गर्ने वर्णव्यवस्थाको बोलाबाला भएकै कारण आज समाजमा ब्राह्मण र क्षेत्रीहरूले सामाजिक मर्यादाका स्थान ग्रहण गरेको र जनजाति एवं शूद्रहरूले सामाजिक राजनीतिक मर्यादा प्राप्त गर्न नसकेको अवस्था छ । तल्लो वर्णका मानिसहरू आफू उच्च वर्णको परिवारमा नजन्मेका कारण आफू ठगिएको ठान्दछन् । तिनीहरूमा लघुताभास पाइन्छ । विडम्बना अग्रगामी लोकतान्त्रिक विचारका बाहक मानिएका विपि यस प्रकारको नियतिवादका हिमायती देखिन्छन् । उनी धार्मिक नियतिवाद र भाग्यवादलाई मिसमास गर्दछन् । ‘राजा, राष्ट्रियता र राजनीति’ मा उनी भन्दछन्, “हामीले जन्मनुभन्दा पहिल्यैदेखिको स्थायी संस्कारलाई लिएर आएका हुन्छौँ । हाम्रा बाबु आमाको, हाम्रो समाजको हाम्रो जातिको एउटा संस्कारमा हामी आएका हुन्छौँ । जस्तो तपाईँ अमेरिकन समाजमा जन्मनु भएन नेपाली समाजमा जन्मनु भयो, त्यो तपाईँको भाग्य हो । तपाईँले आफ्ना बाबु आमा जस्तो पाउनुभयो त्यो पनि तपाईँको नियति वा भाग्य हो (धमला, २०८२ : कला) ।” विपि पूर्वनिर्धिारित संस्कारलाई अपरिवर्तनीय मान्दछन् र यसलाई बदल्न नसकिने दृष्टिकोण अँगाल्दछन् । विपिका अनुसार जन्मेर सचेत अवस्थामा आइपुग्नुअगावै जीवनको क्रम सुरु हुने भएकाले त्यस समयसम्मको संस्कार अपरिवर्तनीय हुन्छ ।
निश्चय नै आज विज्ञान र प्रविधिका कारण मानिसको सोचाइमा परिवर्तन आएको छ । मानिसले अपनाउँदै आएका संस्कार कर्ममा विस्तारै हेरफेर हुँदै आएका छन् । विद्यालय र विश्वविद्यालयमा दिइने शिक्षाले मानिसमा अन्धविश्वासको मात्रा कम हुँदै गएको छ । हिजो बिरामी हुँदा झारफूक र भाकल गर्ने परम्परा त्यागेर मानिसहरू विरामी हुँदा अस्पतालमा जाने र डाक्टरको सरसल्लाहमा चल्ने भएका छन् । तर धार्मिक नियतिवादले जनजीवनमा यति गहिरो जरा गाडेको छ कि पढेलेखेका डिग्रीधारी व्यक्तिहरूले पनि त्यसलाई त्याग्न सकेका छैनन् । हाम्रो कुनै पनि वस्तुलाई हेर्ने दृष्टिकोण वैज्ञानिक बन्न सकेको छैन । मानिसको आफ्नो सामथ्र्यमा होइन, बाहिरी शक्तिमा प्रवल विश्वास देखिन्छ । विद्यार्थीहरू आफ्नो मिहेनतले र लगनशिलताले परीक्षामा राम्रो नम्बर ल्याएर परीक्षा पास गरे पनि त्यसलाई ईश्वरको कृपा ठान्दछन् । परीक्षामा असफल हुने विद्यार्थीहरू आफ्नो मिहेनत नपुगेर असफल भएको संझदैनन्, आफ्नो असफलताका लागि शिक्षक वा उत्तरपुस्तिका जाँच्ने शिक्षकप्रति आक्रोश पोख्दछन् (बिष्ट, २०२० : ८०) । सबारी साधन चलाउने ड्राइभर आफ्नै कुशलताका बलमा गाडी हाक्दछन्, तर बिच बाटोमा दुर्घटना नहोस् भनी मेशिनलाई ढोक्छन् अथवा दैवी शक्तिसँग पुकारा गर्दछन् । मानिस आफ्नो पुरुषार्थले कर्म गर्दछन् तर आफ्नो पुरुषार्थमा होइन, बाह्यशक्तिमाथि विश्वास गर्दछन् ।
आजभोलि हामीले अस्पतालमा निधन हुने बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरेका घटनाहरू समयसमयमा सुन्ने गरेका छौँ । स्वास्थ्य उपचारको व्यवस्थापनमा डाक्टरहरूका कमजोरी र लापरवाहीहरू हुन सक्छन् । तर अनेकौँ प्रयास गरे पनि सिकिस्त भएका बिरामीलाई डाक्टरले बचाउन नसक्ने पनि हुनसक्छ । मानिसहरूले आखिरी परेपछि नै विरामीलाई अस्पताल ल्याउने हो । बिडम्बना ! नियतिवादी विचारको असरका कारण मानिसहरू आफ्नो विरामीको अवस्था बुझ्दैनन् । विरामी आफ्नै स्वास्थ्यका कारण बाँच्न सकेन भनी तिनीहरू सोच्दैनन् । कुनै पनि घटनाको वास्तविक कारण आन्तरिक हुन्छ र त्यो व्यक्तिमा निहित हुन्छ भन्ने कुरा नबुझी बाहिरी शक्तिमा अथवा डाक्टरमाथि दोष थोपर्न पुग्दछन् र अप्रिय घटना घटाउन पुग्छन् ।
धार्मिक नियतिवादले नेपाली समाजलाई बदल्ने मार्गमा पनि अवरोध सृजना गरेको छ । यसले गरीब हुनु, निर्धन हुनु र दुःख पाउनु पूर्वजुनीको कमाइ हो भन्ने विचार उत्पीडित जनसमुदायको दिमागमा भरेर उत्पीडक वर्गले जे जस्तो थिचोमिचो र अन्याय गरे पनि प्रतिरोध गर्नतर्फ नलागी आफ्नो नियति नै खोटो भएको अथवा आफूले पूर्वजुनीमा कमाइ गरेर नल्याएको भनी चूपचाप सहेर बस्ने बनाएको छ । यसले जनतालाई हाम्रो नियति यस्तै दुःखमा बाँच्नुु रहेछ भनी चूपचाप सहेर बस्ने बनाएको छ । यसले जातीय विभेद, उत्पीडन र भेदभावप्रति सहिष्णु बनाएको छ । जस्ले गल्ती गरेको छ त्यसको अपराधलाई अदृश्य शक्तिको पोल्टामा हालेर यसले अत्याचारीको संरक्षण गरेको छ । यसले मिहेनत गरेमा उत्पादकत्व बढाउन सकिन्छ र सम्पन्नतामा बृद्धि हुन्छ भन्ने मानसिकतामा बट्टा लगाएर समाजको प्रगतिमा बाधा पु¥याएको छ । यसले समाजलाई परनिर्भर बनाएको छ । यस्तो परावलम्बी विचारलाई जनताको दिमागबाट हटाएर आफ्नो प्रयत्नमा विश्वास गर्ने नबनाएसम्म समाजले काँचुली फेर्न सक्दैन । धार्मिक नियतिवादले नै नेपाली जनतालाई दासतामा जकड्याएको छ । वर्गसङ्घर्ष द्वारा उत्पीडित वर्गको सत्ताको अन्त्य गर्न सकिन्छ भन्ने विचारलाई यसले पनपिन दिएको छैन । सुन्दर संसारको सृजना गर्न अघि बढ्नु पर्ने श्रमिकहरू नै हीनताबोधबाट ग्रसित भएका छन् । यस प्रकारको नियतिवादबाट छुटकारा नगराई जनतालाई मुक्ति सङ्घर्षमा डोयाउन सकिन्न ।
सन्दर्भ स्रोत
दामोदरन के. २०१८, भारतीय चिन्तन परम्परा, पीपुल्स पििब्लसिङ हाउस प्रा.लि., नई दिल्ली
धमला, जीवनाथ, २०७८, विपिको नियति चिन्तन, नागरिक दैनिक, भाद्र १८
पौड्याल, घनश्याम शर्मा, २०६६, उत्खनन, विवेक शीर्जनशील प्रकाशन प्रा.लि.काठमाडौँ
भूसाल, २०७७, डा. बेदुराम, वैदिक समाज र दर्शन, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ
रेग्मी, रामराज, २०७७, पूर्वीय दर्शनमा भौतिकवाद, जागरण बुक हाउस, वगाबजार, काठमाडौँ
रेग्मी, रामराज, २०८०, नेपाली लोक दर्शन, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ
विष्ट, डोरबहादुर, २०२०, भाग्यवाद र विकास: आधुनिकीकरण हेतु नेपालको जमर्को, अनुवादक वसन्त थापा, डोरबहादुर विष्ट परिवारBhattacharya, Ramkrishna, 2023, Svabhavavada vis-à-vis Materialism, https://www.academia.edu













