पाल्पा । रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सोमबार आयोजित कार्यक्रममा गत आर्थिक वर्षका उपलब्धि, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिबारे समीक्षा गर्दै नागरिकका गुनासा, जिज्ञासा र सुझाव संकलन गरिएको हो।
रामपुर नगरपालिकाको आयोजनामा तथा सीताकुण्ड मिडिया प्रा.लि., रामपुरको सहजीकरणमा सम्पन्न कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख खनालले विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले नदीजन्य पदार्थको उत्खनन कानुनअनुसार गर्न तथा निर्माण व्यवसायीको कामको प्रभावकारी अनुगमन र आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।
सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले नदीजन्य पदार्थ उत्खनन, क्रसर उद्योग सञ्चालनलगायतका विषयमा उठाएका जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख रमणबहादुर थापाले सीमित स्रोत–साधनका बाबजुद नगरमा विकास निर्माणका कामले विगतको तुलनामा गति लिएको बताउनुभयो। उहाँले नगरका सबै १० वटै वडामा समानुपातिक रूपमा विकास आयोजना सञ्चालन भइरहेको जानकारी दिँदै फोहोर व्यवस्थापन नगरपालिकाका प्रमुख चुनौतीमध्ये एक रहेकाले त्यसको समाधानका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गर्नुभयो।
नगर प्रमुख थापाले विकास निर्माणका आयोजना गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै पक्षको सहयोग र निगरानी आवश्यक रहेको बताउँदै नगरको समग्र विकासका लागि नागरिकका रचनात्मक सुझावलाई सदैव स्वागत गरिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ८२ करोड ५१ लाख ३० हजार ६२१ रुपैयाँ विनियोजित बजेटमध्ये ६८ करोड ९८ लाख २३ हजार ४४३ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकाले सञ्चालन गरेका ६९७ योजनामध्ये ६६४ वटा योजना सम्पन्न भएका छन्। सरोकारवालाबाट प्राप्त सुझावले सेवा प्रवाहलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेस रामपुरका सभापति नेत्रप्रसाद भट्टराईले रामपुर अस्पतालमा एन्टीरेबिज भ्याक्सिन र एन्टीभेनमको सहज उपलब्धता सुनिश्चित गर्न तथा सार्वजनिक यातायात र ट्याक्टरको भाडादर निर्धारण गर्न सुझाव दिनुभयो।
नेकपा (एमाले) रामपुर नगर उपाध्यक्ष विशाल श्रेष्ठ (अशोक)ले शिक्षक दरबन्दी मिलानको आवश्यकता औँल्याउनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले सहायता कक्ष व्यवस्थित बनाउन, प्राकृतिक स्रोतको उत्खननमा प्रभावकारी नीति लागू गर्न तथा सल्लाहकारका सुझावलाई बजेट कार्यान्वयनमा समेट्न आग्रह गर्नुभयो। नगर सल्लाहकार अर्जुनप्रसाद श्रेष्ठले हुलाकटोल सडक स्तरोन्नतिसँगै सडकमा रहेका विद्युत् पोल व्यवस्थापनबारे जिज्ञासा राख्नुभयो।
यसैगरी अर्जुनजंग श्रेष्ठ, रुविया खातुन, लोकनाथ भट्टराई, सन्देश ढकाल, प्रेमप्रकाश श्रेष्ठ, गोविन्दप्रसाद भट्टराई, सम्सुल हक मियाँ, देवबहादुर घर्ती, दामोदर कँडेल, टीका सुनार, रविन भण्डारी, समीर पौडेल, मोनिका माझी, नारायणप्रसाद ढकाल तथा अटो व्यवसायी संघका अध्यक्ष चन्द्रबहादुर थापालगायतले नदीजन्य पदार्थ उत्खनन, क्रसर सञ्चालन, फोहोर व्यवस्थापन, सडक स्तरोन्नति, पार्किङ, अटो व्यवस्थापन, स्वास्थ्य, शिक्षा, कृषि, विशेष नापी, खेलकुद, ऐतिहासिक सम्पदा संरक्षण, सामाजिक संस्था तथा बजेट कार्यान्वयनलगायत विषयमा आफ्ना सुझाव र जिज्ञासा प्रस्तुत गरेका थिए।
कार्यक्रममा उपप्रमुख बालकुमारी थापाले नागरिकका गुनासा र सुझावलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमले स्थानीय सरकारलाई थप पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उठेका विषयलाई क्रमशः सम्बोधन गर्दै जाने बताउनुभयो।
उपप्रमुख बालकुमारी थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नगर प्रवक्ता कपिलबहादुर खाँणले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण पत्रकार माधव अर्यालले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सल्लाहकार, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।














