जनकपुरधाम । जनकपुरधाममा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनका अनुसार शान्ति–सुरक्षा कायम राख्न, सार्वजनिक सुव्यवस्था सुनिश्चित गर्न तथा जनधनको सुरक्षालाई ध्यानमा राखी कर्फ्यु लागू गरिएको हो।
कर्फ्यु अवधिभर अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन तथा सुरक्षा निकायबाट जारी गरिएका निर्देशनहरूको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ।
यसैबीच, जनकपुरधाममा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सम्बन्धित निकायहरूले स्थिति सामान्य बनाउन आवश्यक पहल र समन्वय गरिरहेको प्रशासनले जनाएको छ।













