पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले आर्थिक वर्ष २०८२/८३ मा २२ करोड १७ लाख ७१ हजार ११० रुपैयाँ राजश्व संकलन गर्दै अघिल्लो वर्षको तुलनामा ९.८३ प्रतिशत वृद्धि हासिल गरेको छ। कार्यालय प्रमुख श्रीराम पाण्डेका अनुसार अघिल्लो आर्थिक वर्ष २० करोड १९ लाख २० हजार ८२० रुपैयाँ राजश्व संकलन भएको थियो।
कार्यालयका अनुसार सबैभन्दा बढी १७ करोड २९ लाख रुपैयाँ सवारी साधन करबाट संकलन भएको छ। त्यस्तै सवारी नवीकरण, चालक अनुमतिपत्र, आयकर, यातायात क्षेत्रको आम्दानी तथा प्रशासनिक सेवा शुल्कबाट पनि उल्लेखनीय राजश्व उठेको छ। सवारी साधनको संख्या बढ्नु, नवीकरण गर्ने सेवाग्राही र नयाँ लाइसेन्स लिनेको संख्या वृद्धि हुनु राजश्व बढ्नुका मुख्य कारण रहेको कार्यालयले जनाएको छ।
सेवा प्रवाहमा पनि उल्लेखनीय सुधार भएको छ। अघिल्लो आर्थिक वर्ष ३२ हजार १८१ वटा सेवा प्रदान गरेको कार्यालयले गत आर्थिक वर्षमा ४३ हजार ७९ वटा सेवा प्रवाह गर्दै एक वर्षमै १० हजार ८९८ वटा सेवा थप गरेको छ।
सवारी नवीकरण २५ हजार ४६ बाट बढेर ३५ हजार १४६ पुगेको छ भने रुट परमिट नवीकरण १ हजार ५७१, प्राविधिक जाँचपास १ हजार ३६२ र अस्थायी रुट परमिट (पटके) सेवा ५ हजार पुगेको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा ५ हजार ५ सय ४१ जनालाई नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरिएको छ भने ६ सय ४९ जनाले वर्ग थप (क्याटेगोरी एड) गरेका छन्। सोही अवधिमा ७ हजार ७ सय ७३ जनाले नयाँ लाइसेन्सका लागि आवेदन दिएका थिए।

कार्यालयले आगामी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी, सहज, छिटो र गुणस्तरीय बनाउँदै नागरिकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।













