पोखरा । पोखरामा प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको ट्याम्के गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका–१४ शुभकामना टोल बस्ने ३३ वर्षीय मनोजकुमार मंग्राती र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ घर भई पोखरा–१० मिलनटोल बस्ने ३७ वर्षीय विश्वास पुन रहेका छन्।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पोखरा–१४ स्थित छिनेडाँडा क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट २३ ग्राम ९३ मिलिग्राम ब्राउनसुगर, रु. २ लाख ८१ हजार ५०० नगद तथा चार थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













