काठमाडौं, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई पक्षबीच भएको झडप, त्यसक्रममा एक जनाको मृत्यु तथा त्यसपछिको समग्र सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
बैठकले भविष्यमा यस्ता अवाञ्छित घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्ने निर्णय गरेको छ।
यसका साथै, देशका विभिन्न भागमा हुनसक्ने विपद्को पूर्वतयारी, प्रतिकार्य तथा व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो।
परिषद्का अनुसार साउन १० गते सुनसरीमा भएको घटनापछि राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी बैठकमा गराइएको थियो।
बैठकपछि जारी विज्ञप्तिमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति–सुरक्षा कायम राख्न सबै सम्बन्धित निकायसँग समन्वय गर्दै प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने उल्लेख गरिएको छ। साथै, विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई समयमै प्रभावकारी बनाउन सम्बन्धित निकायबीचको समन्वय अझ सुदृढ गर्ने निर्णय भएको जनाइएको छ।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की तथा प्रधान सेनापति अशोक सिग्देललगायतको उपस्थिति रहेको थियो।













