दाङ, साउन १४ — लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने निर्णय भएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि अन्ततः आचार्यकै नेतृत्वलाई निरन्तरता दिने सहमति भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टीका शीर्ष नेताहरू, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्वमुख्यमन्त्री लीला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलपछि आचार्यलाई मुख्यमन्त्रीमा यथावत् राख्ने निष्कर्ष निकालिएको हो।
यससँगै एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँट, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा न्यूनतम कार्यक्रमबारे औपचारिक छलफल अघि बढ्ने भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा दुवै पक्षले गृहकार्य सुरु गरेका छन्।
हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका पाँच जना मन्त्री कार्यरत छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यसपछि एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनाएर सरकार सञ्चालन गर्ने सहमति भएको हो।
सहमतिअनुसार अब नेकपाको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइनेछ भने केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन गरिने तयारी गरिएको छ।













