पाल्पा- तानसेनको देवकोटाचोकमा ‘बर्तुङ्ग सुपथपसल’खुलेको छ । सुपथ मूल्य पसल खुले पछि एकाधिकाको समस्यामा परेका बर्तुङ्ग क्षेत्रका स्थानीय खुसी भएको हो ।
उपभोक्तालाई सुपथमूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक सहयोगमा बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथपसल सञ्चालन गरेका छन् । तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सुपथपसलको उद्घाटन गर्नुभएको हो । बजारको मूल्यमा एक रुपतामा ल्याउन तथा सहज सेवा प्रदान गर्न सुपथपसलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगर प्रमुख शाहीले बताए ।
तानसेन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मुक्तिराम जिसी तथा तानसेन सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले उपभोक्ताको मागअनुसार दैनिक उपभोग्य वस्तु बिक्रीगर्दा मूल्य, गुणस्तर र आवश्यकतालाई ध्यान दिनुपर्ने बताए ।
बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विधान श्रेष्ठले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर उपभोग्य वस्तुहरु बिक्रीमा राखिने बताए । सुपथपसलबाट सुपथमूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने सहकारीका अध्यक्ष भीमलाल भट्टराई श्रेष्ठले बताउनुभयो । तीनलाख ५० हजारको लगानीबाट सुरु गरेको पसलमा असार मसान्त सम्म ५० लाख बराबरको लगानी गर्ने योजना रहेको श्रेष्ठले बताएका छन् । सुपथमूल्य पसलमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका उपभोग्य वस्तु सामग्री उपलब्ध छ । बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथपसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो ।













