राष्ट्रिय न्युज-आगामी फागुन २१ मा हुने निर्वाचनमा नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ जना पुगेको छ । मंगलबार मात्रै २३ हजार ६३८ जना थपिएका छन् । निर्वाचन आयोगमा मंगलबार राति ८ बजे सम्मको विवरणअनुसार नयाँ थपिएका मतदाताहरूमध्ये पुरुष तर्फ १ लाख २२ हजार ७४० जना छ्न भने महिला तर्फ ८६ हजार ७८५ जना रहेका छन् साथै अन्यतर्फ २७ जना रहेको निर्वाचन आयोगले जनाएको छ । असोज ९ गतेबाट सुरु गरिएको मतदाता नामावली संकलन कार्य यही कात्तिक ३० गतेसम्म जारी रहनेछ । आयोगका अनुसार १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् ।
सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न सकिने छ । विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने साथैमतदाता नामावलीमा नाम तथा अन्य विवरणमा त्रुटि भएमा पनि सच्याउन सकिनेछ । नाम दर्ताका क्रममा देखिएको सेवाग्राहीको अधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भईरहेका जिल्लाहरूमा ६/६ घण्टाका दरले दुई सिफ्टमा दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो।
काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार समेत गरिएको आयोगले जनाएको छ ।










