राष्ट्रिय न्युज -आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय (५८ रन) पारी खेलेका थिए । ध्रुव पराशरले ३८ रन बनाएका थिए ।
अन्तिम ओभरमा १० रन आवश्यक हुँदा बलिङमा आएका दीपेन्द्रलाई पराशरले एक छक्का प्रहार गरेपनि लगत्तै दीपेन्द्रले उनलाई क्याचआउट गराएका थिए । त्यसपछि २ बलमा ३ रन आवश्यक हुँदा अर्को पनि रनआउटसँगै शर्ट रन भएपछि यूएईले कुनैपनि रन जोडेन र १ बलमा ३ रन चाहिँदा यूएईले १ रन मात्र जोड्न सक्यो । नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । भने सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १-१ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए । यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए ।