पाल्पा– प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाको पैरवीको लागि नागरिक समाजसँगको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । एएइसिपिजि अर्घाखाँचीको आयोजना आइपास नेपालको सहयोग तथा स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा सञ्चालित कार्यक्रममा आइपास नेपालका लुम्बिनी प्रदेश संयोजक जीवन देवकोटाले नेपालमा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतनको अवस्था बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाँले अहिले पनि सुरक्षित गर्भपतन बिषयमा धेरै महिलाहरु अनविज्ञ रहेको जसका कारण महिलाहरु असुरक्षित गर्भपतन गराउने गरेको बताउनुभयो । उहाँले सुरक्षित गर्भपतन र स्वास्थ्य बिषयमा समुदाय स्तरमा चेतना फैलाउनमा नागरिक समाजको पनि भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा एएइसिपिजि अर्घाखाँचीकी कार्यक्रम म्यानेजर लक्ष्मी अधिकारीले यो कार्यक्रमका माध्यमबाट समुदाय स्तरमा सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्य अधिकार बारेमा चेतना बिस्तार हुने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रप्रसाद गिरी नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रवन्धक शोभाकान्त न्यौपाने गैरसरकारी संस्था महासंघका सचिव ठाकुर प्रसाद लोहागुन लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।














