राष्ट्रिय न्युज– रामपुर नगरपालिका क्षेत्रको विद्युत सेवामा देखिएको समस्याको विषयमा सरोकारवाला बिच विहिबार छलफल तथा अन्तरक्रिया भएको छ । विद्युत महसुल, भोल्टेजस्तर, प्रशारण लाईनको विषयमा देखिएको समस्या समाधान र सम्भावित सुधार लगाएतका विषयमा छलफल भएको हो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल पावर कम्पनी लिमिटेड आँधीखोला जलविद्युत केन्द्र गल्याङ्गका प्रतिनिधि संगै नगर भित्रका जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । रामपुर नगरपालिकाका प्रमुख थापाले विपिसी विद्युत महशुल वृद्धि गरे पनि नगरपालिका भित्र पछिल्लो समय विद्युत सेवा प्रवाहमा समस्या देखिएकाले समाधानका लागि छलफल कार्यक्रम गरिएको बताउनुभयो ।
विपिसीको विद्युत सेवाको गुणस्तरका विषयमा जनताले गुनासो गर्दै आएको भन्दै विपिसीलाई सेवाको गुणस्तरमा सुधार गर्न आग्रह गर्नुभयो । विद्युत लाईन अनियमित हुँदा उद्योगी व्यवसायीहरु मात्र नभै याहाँका खानेपानी तथा अन्य योजनाहरु पनि प्रभावित बनेको बताउनुभयो । साथै उहाँले तत्काल सुधार गर्न सकिने कार्यलाई यथाशिघ्र सुधार गर्नु पर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराईले महशुलको विषयमा संघर्ष समिति र कम्पनी बिचको सहमतिमा गुणस्तर सुधार गरेर मात्र महशुल वृद्धि गर्ने भनिए पनि विपिसिले एक्कासी महशुल वृद्धि गर्नु आपत्तिजनक रहेको बताउनुभयो । नेकपा एमाले रामपुर नगर कमिटी उपाध्यक्ष अशोक श्रेष्ठले विद्युतको पोल व्यवस्थापन र भोल्टेज सुधार तत्काल गर्नु पर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य कमलराज भट्टराईले जनताको प्रत्यक्ष लगानी रहेको बुटवल पावर कम्पनीले छलफल नै नगरी महशुल वृद्धि गर्नु दुखद् भएको बताउनुभयो । व्यापार गर्न आएको कम्पनीले लगानी थपेर सेवामा गुणस्तर प्रदान नगर्ने हो भने विकल्प खोज्नुको अन्य उपाय नभएको बताउनुभयो । वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पोल र तारको उचित व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो । लाइन विस्तार र पोल सार्नका लागि जनताले सास्ती भोग्नु पर्ने अवस्था रहेको बताउनुभयो । वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारीले नगर भित्रका अधिकांश स्थान विपिसिको लाईन बाट सेवा प्रवाह गरे पनि वडाको माथिल्लो स्थानमा लिफ्टीङ्गको लागि नेपाल विद्युत प्राधिकरणको लाइन प्रयोग गरिएको बताउनुभयो ।
छलफल कार्यक्रममा रामपुर नगरपालिका ४ का वडा अध्यक्ष राम बहादुर रानाले देविस्थान क्षेत्रमा भोल्टेज कम आउने समस्या रहेको बताउँदै वडा नं. ४ को कार्यालय बाट सेवा प्रवाहमा पनि कठिनाई भएको बताउनुभयो । वडा नं. ३ का वडा अध्यक्ष दामोदर पाठकले विद्युत लाइन विस्तारका लागि नगरपालिका, तत्कालीन गा.वि.स. वडा तथा वन समुहले समेत रकम विपिसिमा खर्च गरे पनि अहिलेको सेवा प्रवाहको स्थितिले हामी माथि शोषण भयो कि भन्ने लागेको बताउनुभयो ।
वडा नं. ८ का वडा अध्यक्ष दिनेश आचार्यले विद्युत लाइनको तार मकैको बोटले पनि छुने अवस्था रहेको र विद्युत लाइन नहुँदा ठूला लिफ्टीङ्ग सिंचाई योजनाहरु प्रयोग विहिन अवस्थामा रहेको बताउनुभयो । वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले समस्याको पहिचान गरी योजना बनाएर कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार दुर्गेश मल्ल, रमा भण्डारी र शोभाकान्त पाठकले पनि आफ्नो जिज्ञाशा सहितको सुझाव राख्नु भएको थियो । कार्यक्रममा बुटवल पावर कम्पनी आँधीखोला वितरण केन्द्र गल्याङ्गका वितरण प्रमुख डिल्लीराम ढकालले सहभागीहरुको गुनासो सम्बोधन गर्दै समस्या समाधानका एक्सन प्लान बनाएर विपिसी सुधारको बाटोमा अघि बढेको जानकारी दिनुभयो । प्रसारण लाइन क्षेत्रमा बाँस लगाएत अन्य बोटहरुहुर्किदै जाँदा समस्या देखिएको बताउनुभयो । यस वर्षको कार्ययोजना अन्तर्गत रामपुर चापाकोट क्षेत्रमा ८० वटा पोल रिप्लेस गर्न लागिएको जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले छलफल पश्चात विद्युत सेवा सुधारका लागि विपिसीलाई अनुरोध गर्ने निर्णय गरेको बताउनुभयो । वडा नं. ६ को प्याकलुकमा ट्रान्सफर्मर र रामपुर चापाकोट क्षेत्रमा विद्युतपोल थपको कार्य आगामी मंसिर भित्र गर्ने, आगामी आर्थिक वर्षमा देविस्थान क्षेत्रको लागि ट्रान्सफर्मर जडान गर्ने, थप आवश्यक पोल, ट्रान्सफर, विद्युत तारहरु विपिसीको केन्द्रिय कार्यालयमा माग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।













