राष्ट्रिय न्युज- रामपुर बजारमा एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । रामपुर नगरपालिका–५ बेझाँड बजारमा रहेको दाजुभाई इलेक्ट्रोनिक्सको हुलाकटोल नजिकै गोदाममा आगलागी भएको हो । बुधबार दिउँसो साढे १ बजेको समयमा गोदाममा एक्कासी आगो लागेको देखेपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए ।
रामपुर नगरपालिकाको दमकलको सहयोगमा स्थानीय, प्रहरी र नगर प्रहरीले झण्डै एक घण्टा प्रयास प्रश्चात पूर्णरुपमा नियन्त्रणमा लिएको थियो । आगलागीबाट गोदाममा भण्डारण गरेर राखिएको एसी, कुलर, फ्रिज, वासिङ्ग मेसिन लगाएतका इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले बताउनुभयो । दाजुभाई इलेक्ट्रोनिक्स युवा व्यवसायी सुरेश रायमाझी (राजु)ले बेझाँड बजारमा सञ्चालन गर्दै आउनु भएको छ । विद्युत् सट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।













