राष्ट्रिय न्युज ।
पाल्पा जिल्लाको निस्दी गाउँपालिका–१, मा वनमा लागेको डढेलो बस्तीमा पस्दा एक घरगोठ जलेर नष्ट भएको छ । आगालागीले बाकामलाङ जुरेडाँडाका स्थानीय दिलबहादुर सारुको घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको अवस्थामा लागेको आगोले सारुको घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । मङ्गलबार अपरान्हमा लागेको आगोमा परी गोठमा रहेको एक वटा गाई, एक वटा भैंसी र साना पाठापाठी र माउ गरी २० वटा बाख्रा जलेर मरेको छ । सारुको घर भित्र रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडासँगै ३० हजार बराबरको नगद र डेढ तोलाको गरगहना समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो ।
आगोलागीबाट २५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । केलादी प्रहरी चौकीका अनुसार घर नजिकै जङ्गलमा लागेको आगो सहितको हावाहुरी चलेपछि सुरुवातमा खरले छाएको गोठमा आगो सल्किएको र त्यस पश्चात खर र जस्ताले छाएको घरमा आगो लागेको थियो । स्थानीयको प्रयासमा साँझ पख मात्र आगो नियन्त्रणमा आएको हो । पीडित परिवार अहिले छिमेकीको घर बस्नु भएको छ ।












