पाल्पा– माओवादी तानसेनद्वारा जनयुद्धका शहिद परिवार, घाइते, अपाङ्लाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जोग प्रसाद शर्माले अहिले देशमा माओवादी आन्दोलनलाई कमजोर बनाएर सामन्तवादी र दलालहरु हावी हुन खोजेको बताउनुभएको छ ।
माओवादीको आन्दोलनको उपलव्धीको रुपमा रहेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, छुवाछुदको अन्त्य, सुसासन, पारदर्शीता जस्ता उपलव्धी भएको भन्दै नेता शर्माले त्यसबाट अत्तालिएर काँग्रेस एमालेले फेरी सामन्तवादी सत्ता चलाउन खोजेको आरोप लगाउनुभयो ।
पछिल्लो ३० वर्ष देश माओवादीको एजेन्डामा हिड्को बताउँदै नेता शर्माले जसको नीति उसको नेतृत्व नहुँदा अहिले संघीयतालाई नै बदनाम गराउने काम भइरहेकोले त्यसको विरुद्ध गाउँगाउँमा जागरण गराउन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
सत्ता संचालनमा भएका विकृति र विसंगतिको अन्त्य, विकासको मोडेल, राष्ट्रिय गौरभका आयोजना, अन्तराष्ट्रिय विमानस्थल, रेलमार्ग, जलविद्युत विकास, पानी जहाजको योजना पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुँदाको माओवादीको एजेन्डा भएको शर्माले बताउनुभयो ।
यस्तै पाल्पा जिल्ला इन्चार्ज तथा प्रदेश सांसद तुलाराम घर्तीले माओवादी विचार भनेको देश विकास र सूसासनमा केन्द्रीत रहेकोले त्यसतर्फ अन्उ दल आत्एिर गलत भ्रम फैलाएको बताउनुभयो ।
उहाँले पार्टीलाई तीन तहकै निर्वाचनमा अब्बल बनाउने गरी जनताको घरदैलोमा जान पार्टी नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । यस्तै पूर्व सांसद तथा केन्द्रीय सदस्य एवं नवलपरासी जिल्ला सहइन्चार्ज सीता बौडेलले माओवादीलाई घेराबन्दी गरेर देश र राष्ट्रियता कमाजोर पार्न काँग्रेस र एमालेले ज्यान फालेर लागेको बताउनुभयो ।
यस्तै अर्का केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सहइन्चार्ज अनिल किशोर घिमिरेले काँग्रेस र एमालेले दिएको झुटा आश्वासको पछाडि नलाग्न सम्पूर्ण देशवासीमा आग्रह गर्नुभयो, उनीहरुले सपना मात्रै बाड्ने भएकाले काम र विकासको लागि माओवादी आन्दोलनमा गोलबद्ध हुनुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा शहिद परिवार, घाइते अपाङ्ग, वेपत्ता परिवार, जेलनेल भोगेर १० वर्षे जनयुद्धमा सहयोग गरेका नगरका परिवारहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई माला, सम्मानपत्र र पछ्यौरा ओडाएर सम्मान गरिएको जिल्ला संयोजक नेत्र प्रसाद पाण्डेयले बताउनुभयो । माओवादी आन्दोलनमा रगत बगाएका परिवारको रगतको अवमूल्यन नभई त्यसको सम्मान गर्नमा पार्टीले जनचाहना अनुसारको काम गर्ने बताउनुभयो ।
कार्यक्रम तानसेन नगर कमिटिका अध्यक्ष प्रतिक्षा सिंजालीको अध्यक्षता तथा सचिव नवराज बस्याललेको संचालनमा भएको थियो । २ सय ५० नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।













