असोज ४ पाल्पा ।
करोडौं रुपैयाँ खर्च गरेर निमार्ण गरिएको तिनाउ गाउँपालिका २ मा रहेको अविरल पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ।
संरक्षण र प्रवर्द्धनको अभावमा पार्क र त्यहाँका संरचनाहरु दिनानुदिन जीर्ण हुँदै गइरहेका छन्। पार्कमा पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सिमित भएको छ। सातपत्रे सामुदायिक वनको करिब २ हेक्टर क्षेत्रफलमा फैलिएको पार्क अहिले झाडीले ढाकिएको छ। पार्कका घुम्ने स्थानमा जताजतै झाडी र फोहोर हुँदा अहिले पर्यटकको आवागमन शून्य बराबर छ।
सो पार्कमा पिकनिक खाने, घुम्ने पर्यटकहरुकोे लागि राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना थियो। त्यसैगरी स्थानीयहरुलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्वपूूर्ण हुनसक्ने स्थानीय राजेश श्रेष्ठ बताउँछन्।
जताजतै उम्रिएको घाँस र फोहरहरुले गर्दा पार्कमा जान कसैको रुचि नहुने गरेको स्थानीय अमरसिङ भण्डारीले बताउनुभयो । उहाले स्थानीयहरु पार्कलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गर्दै आइरहे पनि स्थानीय सरकार मौन रहेको बताउनुभयो।
२०६१ सालमा १४ वर्षका मानसिङ बस्नेतलाई नेपाली सेनाले गोलि हानेर हत्या गरेको हुदा उनैको सम्झनामा अविरल पार्क निर्माण गरिएको भण्डारीको भनाइ छ।
स्थानीय सरकारले २०७४ को निर्वाचन पछि सुरु गरेको योजना ५ वर्ष सम्म १ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ। २०७९ को निर्वाचन पछि ३ वटा बजेट आइसक्दा पनि कुनै वर्ष यो पार्क बजेटमा समेटिएको छैन ।यो वर्षमा पार्कको पुनः निर्माणका लागि प्रदेश सरकारले भने २० लाख रुपैयाँ बजेट छुट्टाएको छ।
पार्कमा अहिले शहीद स्तम्भ, पोखरी, चिल्ड्रेन पार्क, चौतारा लगायतका संरचनाहरु रहेका छन्। पार्कभित्र रहेको पोखरी अहिले झाडीले पुरिएको छ। निमार्ण अवधिदेखि नै पार्कको स्वामित्वमा विवाद आइरहेको छ।अहिले सो पार्कको स्वामित्व तिनाउ गाउँपालिकामा छ। तर पालिका भने स्थानीयलाई स्वामित्व दिने तयारी गरिरहेको छ ,स्थानीयले अपनत्व लिन नसक्दा हस्तान्तरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।चाहेर पनि कसको स्वामित्वमा रहने भन्ने विवादका कारण पछिल्लोसमय कुनैपनि काम हुन नसकेको श्रेष्ठको भनाइ छ।
पार्कमा सुरुवाती लगानी बाहेक हालसम्म राज्यका कुनकुन निकायको के कति लगानी भएको छ भने स्पष्ट तथ्यांक कसैसँग पनि छैन। राज्यको करौडौं लगानी भइसकेको सो पार्कलाई व्यवस्थित ढंगले सञ्चालन गर्नसके पर्यटकीय स्थलसँगै तिनाउबासिको लागि खुला स्थलको उत्तम विकल्प पनि बन्नसक्ने देखिन्छ। यसको लागि सरोकारवाला सबैको ध्यान जानु अत्यावश्यक देखिएको छ।त्यहा पुग्ने जोकोही पनि राज्यको करोडौं लगानी संरक्षण र अपनत्व अभावले खण्डहरमा परिणत भएको महसुस गर्छन।













