पाल्पा –प्रेम दिवस विश्वभर मनाइने दिवस हो । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदैछ । प्रणय दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले उपयोग गर्ने गर्छन् । नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ ।
पाल्पामा भने सँच्चा प्रेमको प्रतीक ठानिने रानीमहलमा सोमबार बिहानै देखि प्रेम जोडीहरुको भिड लागेको छ । आइतबार बेलुकी देखि नै रानीमहलमा जोडीहरु पुगेको स्थानीयले जनाएका छन् । रानीमहलसँगै पाल्पाका श्रीनगरडाँडा, बतासेडाँडा लगायतका अन्य क्षेत्रमा पनि प्रेम साटासाट गर्ने जोडी देख्न सकिन्छ ।
कालीनदी किनारमा रहेको सुन्दर रानीमहल तत्कालीन राजा खड्गशम्शेरले तेजकुमारीको सम्झनामा विसं १९५४ मा निर्माण गरेका थिए ।
पाल्पाको सदरमुकाम तानसेन देखि १४ किलोमिटर उत्तर कालीनदी किनारमा २४ कोठा भएको दरबारमा दुई पोखरी, मन्दिर, बगैँचा, पाटी, घोडा तबेला साथै भक्तिनी बस्ने स्थानसमेत देख्न सकिन्छ ।













