तिलोत्तमा । तिलोत्तमा उद्योग बाणिज्य संघको सम्पन्न चौथो अधिवेसन तथा दशौं वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सोमवार पदस्थापन गरिएको छ । नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई संघका प्रेस सल्लाहकार तथा प्रमुख निर्वाचन अधिकृत अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले पदस्थापन गराउनु भएको हो । संघको हालै सम्पन्न चौथो अधिवेसनले संघको बरिष्ठ उपाध्यक्षमा सुरज पंगेनी, उद्योग उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने, बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी र महासचिवमा राजकुमार पाण्डेलाई सर्वसम्मत निर्वाचित गरेको थियो । त्यसैगरि संघको कोषाध्यक्षमा टिकाराम भण्डारी, सचिवमा बीना न्यौपाने, सहसचिवमा कृष्णप्रसाद पाण्डे र सह कोषाध्यक्षमा बसन्त रोक्का सहित २१ सद्स्यिय कार्य समिति सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जानकारी दिनुभयो ।
पदस्थापन कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाणले ब्यवसायिक हक, हित र बिकासकालागि आफू सदैव साथमा रहेको बताउनुभयो । ब्यवसायिक एकता र सहकार्यबाट मात्र आर्थिक समृद्धि सम्भव हुने उल्लेख गर्दै अहिलेको आवश्यकता भनेकै ब्यवसायिक एकता रहेको बताउनुभयो । बिभिन्न परिस्थितिका कारण ब्यवसायीहरु पलायन हुने अवस्था सृजना भइरहेको बताउदै उहाले ब्यवसायलाई टिकाउने र चलायमान बनाउने योजनाहरु बनाउन ब्यवसायीलाई सुझाव दिनु भयो । उहाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै आउदो कार्यकाललाई रचनात्मक बनाउन आग्रह गर्नु भयो ।
संघका अध्यक्ष गुणनिधी भण्डारी माधवको अध्यक्षता तथा बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीको स्वागतमा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नवराज श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रुस्तम कंडेल, पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष हिमाल गैरे, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरे, निर्वाचन अधिकृत माधवप्रसाद घिमिरे लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई सहित सफलकार्यकालको शुभकामना दिनुभएको थियो ।













