भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ । राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए।उहाँका अनुसार राप्ती सोनारी–४ स्थित सामुदायिक स्वास्थ्य एकाइ गुर्दनगौडीमा पुगेर सीमा क्षेत्रका वासिन्दालाई खोप सेवा प्रदान गरिएको हो । सो क्रममा ३० जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्थानीयवासीलाई सामान्य खालका औषधि निःशुल्क वितरण गरिएको थियो । कोरोनाविरुद्धको खोप लगाउन केही विद्यार्थी र स्थानीय बासिन्दा पनि छुटेकाले अर्को हप्ता पुनः उक्त सेवा दिइने उनले जानकारी दिनुभयो ।













