बैशाख ९,पाल्पा
शनिबार माथागढी गाउँपालिका वडा नं.४,जामुनडाँडामा लागेको आगो निभाउने क्रममा स्थानीय पूर्णबहादुर काम्मु र कैशल प्रसाद श्रेष्ठ घाइते हुनुभएको छ । शनिबार दिउसो स्थानीय छमीसरा काम्मुको गोठमा भैसीलाई खुवाउने कुडो पकाउन सल्काएको आगो फैलिएर छिमेकीको घर,गोठ नस्ट भएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदिले जानकारी दिनुभयो ।
आगलागीबाट चार घर, पाँच गोठ, भैसी, गोरु, बाख्रा, कुखुरा, लत्ताकपडा, रगहना, पैसा अन्नपात सबै जलेर नष्ट भएको अध्यक्ष चिदीले जानकारी दिनु भयो । आगलागीबाट काम्मु सहित भुवनसिंह सुनार,दिलकुमारी विक,रामबहादुर सुनार,राजन विक,र कौशल प्रसाद श्रेष्ठको घरगोठमा क्षति भएको थियो ।
माथागढी गाउँपालिकाले आगलागी नियन्त्रणका लागि थप ४ वटा ट्यांकर परिचालन गरीएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनु भयो ।पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने र तत्कालै खाद्यान्न सामग्री वितरण गर्ने काम भएको उहाँले बताउनुभयो ।
गतवर्ष भन्दा यसवर्ष आगलागीका घटना बढ्दो रुपमा रहेको छ । खडेरीको मौसम भएको कारण विभिन्न स्थानहरुमा आगोलागी हुने क्रम बढ्दो छ । आगलागि नियन्त्रणमा स्थानीय तथा सुरक्षा निकाय दिनरात खटिएको देखिन्छ । जिल्लामा एक मात्र दमकल भएका कारण पनि आगलागि नियन्त्रणमा समस्या देखिएको हो ।