संगिता आचार्य
पाल्पाको तिनाउँमा भएको जिप दुर्घटनामा मृत्यू भएका ५ जनाको परिवारलाई तिनाउ गाउँपालिकाले राहत रकम वितरण गरेको छ । गाउँपालिकाले मृत्यु हुनेहरुको घरघरमै गई राहात स्वरुप रु.३५ हजार रुपैंयाको दरले राहत रकम वितरण गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँकार्यपालिकाको बैठकले मृत्यू हुने तिनाउ गाउँपालिका भित्रका ५ जनाको परिवारलाई रु.३५ हजार रुपैंयाको दरले राहत वितरण गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले दुखद घटनामा परेका परिवारको घाउमा मलम लगाउने प्रयास गरेको भन्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि नागरिकहरुका विभिन्न समस्याहरुमा समन्वय गर्ने बताउनुभयो ।
गत मंगलबार बेलुका भएको जिप दुर्घटनामा घटनास्थल र उपचारका क्रममा दुई गरी दश जनाको मृत्यु भएको थियो । जसमध्ये तिनाउ गाउँपालिकाका मात्र ६ जनाको मृत्यू भएको थियो । तिनाउ गाउँपालिका भित्रका मृतकहरु ६० वर्षकी यनकुमारी पन्तका भदै गोपाल बहादुर थापा, ३९ वर्षीय रामबहादुर पन्तकी श्रीमती गोमा देवी अस्लामीलाई राहत रकम वितरण गरेको गाउँपालिकाका प्रवक्ता यादव अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै ६७ वर्षका कृष्णबहादुर अस्लामीका छोरा अभिशेक अस्लामी, २८ वर्षकी उर्मिला अस्लामीका छोरा खेम अस्लामी र २० वर्षिय गिता सुनारका श्रीमान सन्तोष विश्वकर्मालाई राहत रकम वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले जानकारी दिनुभयो ।
पाल्पाको डुम्रेबाट तिनाउ गाउँपालिका वडा नंं ६ को चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य १६ जना घाइते भएका थिए । तिनाउ गाउँपालिकाका अध्यक्ष श्रेष्ठले अन्य घाईतेहरुको उपचारका लागि बीमा बोर्ड, अस्पतालको सामाजिक विकास शाखालगाएत सम्बन्धित पक्ष संग समन्वय समेत गरेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले ग्रामिण क्षेत्रमा प्रहरीको अनुगमन नभएको मौका छोपी क्षमता भन्दा बढी यात्रु बोक्ने कार्यलाई रोक्न अनुरोध गर्नुभयो ।
दुर्घटना बाट मृयू भएका परिवारहरुको दुखद घडीमा तिनाउ गाउँपालिकाले पालिकामा सम्पुर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा एक दिन शोक बिदा समेत दिएको थियो ।













