नेकपा एमाले,तिनाउ वडा नं.२ को दोस्रो अधिवेशन दोभानमा शनिवार सम्पन्न भएको छ । अधिवेशनले रामबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भगवती बस्याल,सचिवमा दिनेश थापा र उपसचिवमा पूजा रजाली एवम् ईन्द्रबहादुर गाहा निर्वाचित भएका छन् ।
प्रमुख अतिथिका रुपमा रहेका नेकपा एमाले जिल्ला कमिटी,पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले अधिवेशनको उद्घाटन गर्दै जनताको प्रिय पार्टीलाई जनताकै घरदैलोमा पुराउन नेता,कार्यकर्ताहरु सक्रियरुपमा क्रियाशील हुनुपर्नेमा जोड दिए ।
अधिवेशनका विशिष्ट अतिथि एवम् लुम्बिनी प्रदेश कमिटीका सदस्य दलबहादुर गुरुङले तिनाउको राजधानीमा रहेको वडा नं.२ को वडा अधिवेशनले सबै पार्टी र सबै वडालाई नयाँ सन्देश प्रवाह गरेको बताउँदै एमालेले आगामी निर्वाचनमा आफूलाई पहिलो शक्तिका रुपमा पुनस् स्थापित गर्ने बताए ।
सोही अवसरमा नेकपा एमालेका नेता ओमबहादुर घर्तिमगरले जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तमा अडिक रहेर श्रमजीवी,निमुखा र सर्वहाराका पक्षमा निरन्तर गतिशील हुने बताए । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आफू र आफ्नो पार्टी दिनरात जनताका लागि काम गरिरहेको बताए । अधिवेशनमा गाउँ कमिटी अध्यक्ष रोमबहादुर लम्तरी मगर,वडाध्यक्षहरु यादवप्रसाद अर्याल,तुलबहादुर आले र अधिवेशन प्रतिनिधिहरु चन्द्रबहादुर क्षेत्री,दिनेश थापा, ईन्द्रबहादुर गाहा,कुमारी खड्का,चूडामणि लम्साल,विकास अर्याल लगायतले नेकपा एमालेले जनताका पक्षमा काम गर्दै जाओस् भन्दै शुभकामना ब्यक्त गरे ।
निर्वाचित वडा कमिटीका अध्यक्ष,रामबहादुर थापाले आफ्नो वडा कमिटीले आगामी निर्वाचनमा वडाध्यक्षसहित प्यानल नै जित्ने गरि अघि बढ्ने,पार्टी सदस्यता अभिवृद्धि गर्ने,पार्टी र जनप्रतिनिधिका बीच सम्बन्ध प्रगाढ बनाउँदै लैजाने,पार्टीलाई वडाबासीका घरदैलोमा पुराउने प्रतिवद्वता समेत व्यक्त गरे ।












