पाल्पा- जिल्ला प्रहरी कार्यालय पाल्पाको नयाँ भवन तथा अन्य भौतिक संरचनाकाे उद्घाटन गरिएकाे छ । नेपाल सरकारको ६ करोड ९५ लाखमा भान्सा घर, स्नान घर, शौचालय, हिरासत कक्ष, व्यारेक तथा प्रहरी प्रमुख र प्रहरी अधिकृत बस्ने कक्षकाे उद्घाटन गरिएकाे हाे ।
आइतबार तानसेनमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको नयाँ भवनसहित अन्य पूर्वाधारको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । महानिरीक्षक कुँवरले प्रहरीको सेवा प्रभावकारी बनाउन प्रहरी सबै कुरामा सम्पन्न हुनुपर्नेमा जाेड दिनुभयाे ।
शान्ति सुरक्षा कायम गर्न प्रहरीसहित आम नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
भवन उद्घाटन कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रहरीलाई कुनै राजनैतिक हस्तक्षेपविना चल्न दिनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरी विश्वमै उत्कृष्ठ प्रहरीको रुपमा स्थापित भएको भन्दै उहाँले प्रहरीलाई सुबिधासम्पन्न बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले प्रहरीलाई प्रविधिमैत्री बनाउन सके अपराध तथा अनुसन्धानमा सफलता मिल्ने बताउनुभयो । नयाँ भवन बनेपछि प्रहरीको सेवा थप प्रभावकारी बन्ने र जिल्लामा शान्तिसुरक्षा सुदृढ हुने उल्लेख गर्नुभयो । कार्यक्रमका अवसरमा उत्कृष्ठ सेवा गर्ने प्रहरी अधिकृत तथा जवान, निर्माण व्यवसायी तथा विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यबहाक सभापति झपेन्द्र गहिरेले पाल्पा विगतदेखि नै सबैकाे सहकार्य र समन्वयमा संचालन हुने जिल्ला रहेकाे बताउनुभयाे । उहाँले नेपाल प्रहरीले विगतदेखि नै जिल्लामा कार्य कुशलता देखाएकाे उल्लेख गर्नुभयाे ।
भाँडाको घर तथा पुरानै टहरामा बस्दै आएको प्रहरीका लागि सुबिधासम्पन्न पूर्वाधार बनेपछि सेवा प्रदान गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले बताउनुभयो ।











