पाल्पा–रामपुर नगरपालिकामा अभिभावक अभिमुखिकरण तालिम संगै न्यानो कपडा तथा स्काउट पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । ४ नं. वडा कार्यालयले शैक्षिक सुधारका लागि अभिभावकलाई अभिमुखिकरण संगै विद्यार्थीलाई न्यानो कपडा सहित पोशाक वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शिक्षाको स्तर सुधारको लागि विद्यार्थीलाई कक्षामा पढाउने मात्र नभई अभिभावकहरुलाई जागरुक गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिकाको सिकाईमा घरपरिवार र समुदायका गतिविधिले विशेष प्रभाव राख्ने हुनाले त्यस तर्फ पनि ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले शिक्षाको गुणस्तर सुधारका लागि अभिभावकहरुको महत्वपूर्ण भुमिका खेल्ने भएकाले गत वर्ष देखि अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले कार्यक्रमको अवसरमा चालु अर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रमको अवसरमा वडा कार्यालयले जलदेविस्थान कुमाल सामुदायिक सिकाई केन्द्रमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो । सिकाई केन्द्रको विहानी कक्षा अध्यनरत सीताराम मावि, कालिका मावि, रामतुलसी मावि, रामपुर अंग्रेजी आवासिय मावि र भू.पू. सैनिक राईजिङ्ग इङ्गलिश स्कलुमा अध्यनरत ५५ जना विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेको थियो । त्यस्तै सीताराम माध्यमिक विद्यालयका ५६ जना विद्यार्थीहरुलाई नेपाल स्काउटको पोशाक समेत वितरण गरेको थियो ।
वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ४ का वडा सदस्य कमला देवी रुचालको स्वागत बाट सुरु भएको थियो ।










