पाल्पा–जिल्लाको सदरमुकाम तानसेनमा क्रिसमसको रौनक छाएको छ । यस वर्ष सोमबार परेको क्रिसमसको अवसर पारेर चर्चहरुमा रौनक छाएको हो । क्रिसमस डे पर्वको अवसरमा इसाई धर्मावलम्बीले शनिबार खुसियाली मनाउँदै र्याली निकालेका छन् । उनीहरुले तानसेनको टुँडिखेलबाट नगर परिक्रम गर्दै पुन टुँडिखेलमै पुगेर र्याली विर्सजन गरेका थिए । इसाई धर्मावलम्बीले खुसियाली, उपहार र शुभकामना साटासाट गरी यो चाड मनाउने गर्दछन् । र्यालीमा स–साना बालबालिकादेखि वृद्धहरु समेत उत्साहका साथ सहभागी भएका थिए । उनीहरु गीत गाउँदै, नाच्दै एक आपसमा सुुखीयाली साटेको देखिन्थो ।
र्यालीमा तानसेनका १० वटा चर्चहरुबाट इसाई धर्मावलम्बीहरुको व्यापक सहभागीता रहेको धन्यवाद सामुदायिक चर्चका एल्डर मिनबहादुर जर्घाले बताए । उनका अनुसार सोमबार क्रिसमस डे पर्वको भव्य तयारी भएको छ । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएका थिए ।
क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदान प्रदान गरिन्छ ।












