तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडक कालोपत्रे गर्न वि।सं २०७३ असोज १९ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको १५ महिनाभित्र काम सक्ने गरी निर्माण व्यवसायी वाइपी–जय–रक्तकाली जेभी पुल्चोक ललितपुरसँग सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । विश्व बैङ्कको आठ करोड ३१ लाख लगानीमा आठ किलोमिटर सडक निर्माण गर्न तत्कालीन जिल्ला प्राविधिक कार्यालयसँग सम्झौता भएको थियो ।
निर्माण व्यवसायीले गएको असारमा काम गर्न थाले पनि केही स्थानमा मात्र काम गरेर पुनः बेपत्ता बनेको कार्यालयका प्रमुख वासुदेव भण्डारीले बताउनुभयो । लामो समयसम्म योजना सम्पन्न नहुँदा यो वर्ष उक्त सडक निर्माणका लागि बजेटै नभएको उहाँले बताउनुभयो ।
उहाँले निर्माण व्यवसायीको लापरबाहीले उक्त आयोजना पूरा हुन नसकेको र योजना पूरा गर्नका लागि बजेट पहल भइरहेको र निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर सडक निर्माण नगरेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।
सडक पूर्वाधार विकास कार्यालयका अनुसार गएको असारसम्मका सडकको ७९ प्रतिशत काम सकिएको थियो । बाँकी कामका लागि ठेकेदारले काम गरेजस्तो गरेर पुनः सम्पर्कविहीन बनेको र अब बाटो पूरा हुने छाँट नभएको स्थानीय बासिन्दा बताउछन् ।
चिलाङ्दी चापपानी तथा राम्दी सडक पाल्पाको महत्वपूर्ण सडकका रूपमा रहेको छ । सडक पूर्ण रूपमा कालोपत्रे भएपछि तानसेन–आर्यभन्ज्याङ–राम्दी सडकको वैकल्पिक मार्गका रूपमा चिलाङ्दी–चापपानी सडकलाई प्रयोग गर्न सकिन्छ । जुन बाटो १५ किलोमिटर छोटो दुरीमा पर्छ ।











