पाल्पा – पाल्पाको माथागढी गाउँपालिका वडा नं. ३ मा महिलाहरुलाई स्थानीय कच्चा पदार्थको प्रयोग गरी मसला बनाउने तालिम दिइएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले मसला बनाउने तालिम दिएको हो ।
तालिममा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले हरेक नेपालीको भान्छामा प्रयोग हुने मसला बाह्य देशबाट आयात हुने गरेको बताउदै स्थानीय कच्चा पर्दाथकोे प्रयोगबाट आर्थिक बचत गराउन मसला बनाउने तालिमको आवश्यकता ठानेर तालिम आयोजना गरिएको बताउनुभयो । साना साना उपभोग्य वस्तु किन्दा पैसा देश बाहिर जाने भएकोले स्थानीयस्तरमा मसला बनाउँदा अर्गानिक मसलाको प्रयोग गर्न पाइने र धेरैथोरै विक्रीबाट महिलाहरुले आम्दानी समेत गर्न सक्ने अध्यक्ष चिदीको भनाइ छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख गौतम थापाले अघिल्लो बर्ष लुम्बिनी प्रदेश सरकारको सहकार्यमा नवप्रवर्तन साझेदारी कोष अन्तर्गत मसला उद्योग भवन र मेसिन खरिद गरेको भन्दै यसवर्ष गाउँपालिकाले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य अनुसार तालिम सुरु गरिएको जानकारी दिनुभयो ।
वडा नं. ३ का वडा सदस्य मान बहादुर रानाले महिलाहरुले तालिम लिएर त्यसलाई व्यवहारमा लागु गर्न अनुरोध गर्दै आगामी दिनमा थप सीप र प्रविधिमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । गाउँपालिकाका प्रशासन शाखा प्रमुख नित्यानन्द खनालले गाउँपालिकाले स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थको प्रयोग गरी मसला बनाउने र भविष्यमा त्यसको विक्री वितरणका लागि समेत योजना बनाइरहेको बताउँदै अहिले उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेका अनुसार तालिममा रेशम राना र राजेश थापाले स्थानीयस्तरमा उपलब्ध हुने मसलाजन्य टिमुर, अदुवा, बेसार, दालचिनीलगायतको प्रयोगबाट मसला उत्पादन गर्न सहजीकरण गर्नुभएको जानकारी दिनुभयो ।
अहिले सञ्चालन भएको दुई दिने तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्ने सहभागीलाई आगामी दिनमा आवश्यकता अनुसार पुर्नताजगी तालिम सञ्चालन गरिने योजना रहेको गाउँपालिकाका आलेप प्रमोद भट्टराईले जानकारी दिनुभयो ।












