पाल्पा – बगनासकाली गाउँपालिकाले ग्रामीण सडक सुधारका लागि गाउँपालिकास्तरीय सडक सरसफाई तथा मर्मत उपभोक्ता समिति गठन गरेको छ ।
गाउँपालिकाले डेन्जिग रायमाझीको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति समेत गठन गरेको हो । जसको सचिवमा मिन बहादुर राना, कोषाध्क्षय सीता देवी बस्याल रहनुभएको छ । इश्वरी बस्यालको संयोजकत्वमा अनुगमन समिति समेत गठन भएको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा जस्तै चाडपर्वमा नागरिकलाई आवतजावतमा सहज बनाउन आवश्यक काम गर्नका लागि उपभोक्ता समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ । वडास्तरमा सडक सरसफाई तथा मर्मत विगतमा वडाले आफ्नो तरिकाले गर्दै आएकोमा यसपटक फरक तरिकाले काम गर्ने उद्देश्यले गाउँपालिकाबाटै योजना सञ्चालन गर्नेगरी समिति गठन भएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले नजिकिँदै गरेको विजया दशमीलाई मध्येनजर गरी सडक सरसफाई तथा मर्मत गर्न थालिएकोले सबै जनप्रतिनिधिहरु समन्वयात्मक रुपमा खट्न अनुरोध गर्नुभयो । उहाँले एक वडा एक डोजरको प्रयोग गरी काम छिटो छरितो र प्राविधिकले दिएको स्टीमेट अनुसार गर्ने आग्रह समेत गर्नुभयो ।













