पाल्पा– हिन्दु धर्मावलम्बीहरूले बुधबार भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मुलुकभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाएका छन् ।
सो अवसरमा पाल्पास्थित प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । श्रद्धालुहरूले आफ्ना नजिकका कृष्ण मन्दिरहरूमा गई पूजा आराधना, व्रत र भजनकीर्तन गरेका छन् । पर्वका अवसरमा भक्तजनहरुले आफ्ना बालबालिकाहरुलाई कृष्ण र राधाको स्वरुपमा सिंगार्ने गरेका छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ भने यस रातलाई मोहरात्री भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।













