नेकपा माओवादी केन्द्रले संचालन गरेको तीन महिने पार्टी रुपान्तरण विशेष अभियानको तयारी रुपन्देहीमा तिब्र रूपमा अगाडी बढाईएको छ। "घरघरमा माओवादी, जनजनमा माओवादी” नारा दिईएको जनतासंग माओवादी विशेष अभियानको तयारीका क्रममा जिल्लाका सबै पालिका र वडाहरूमा बैठक सन्चालन भैरहेको जिल्ला पार्टी संयोजक नारायण जिसी 'निर्मल'ले जानकारी दिए। अभियानको तयारी अन्तरगत शनिबार जिल्लाका ४ पालिकामा माओवादीले विशेष बैठक सम्पन्न गरेको छ। तिलोत्तमा नगरपालिका, कन्चन गाउँपालिका, गैडहवा गाउँपालिका र मर्चावारी गाउँपालिकामा पार्टीले बैठक सम्पन्न गरेको हो।
बैठकमा अभियानका जिल्ला इञ्चार्ज समेत रहेका पार्टी स्थायी कमिटि सदस्य गणेशमान पुन, केन्द्रीय सदस्यहरू नारायणी शर्मा, सिता बौडेल, सिर्जना तरामु, इसरार खान, ठाकुर कुमार विक, पुरन केसी, दुरारी हरिजन जिल्ला संयोजक नारायण जिसी निर्मल, प्रदेश सचिवालय सदस्यहरू खरिन्द्र विक, सुजित, रिज्जु श्रेष्ठ, अमर रोका लगायतका नेताहरू जुटेका छन्।
स्थायी कमिटि सदस्यलाई जिल्लामा, केन्द्रिय सदस्यलिई पालिकामा, प्रदेश तथा जिल्ला स्तरिय नेतालाई वडामा र पालिका स्तरिय नेतालाई टोलमा परिचालन गरेको माओवादीले पार्टीका सबै नेताहरूको कार्यक्षेत्र परिवर्तन गरिदिएको छ। जसले पार्टीमा बेग्लै संचार पैदा भैरहेको कार्यकर्ताहरू बताउछन।
अभियानका क्रममा पार्टीले गरेका राम्रा कामको प्रचार, जनताबाट पार्टीलाई आवश्यक सुझाब संकलन गर्ने र जरैदेखि पार्टीलाई बलियो बनाउने गरि संगठन निर्माण गरिने पार्टीले जनाएको छ।













