लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर बैठक अवरोध गर्दै आएको छ ।
प्रदेश सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउँदै एमाले लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको हो । एमालेले असार १३ गते बसेको प्रदेश सभाको बैठक अवरुद्ध गरेको थियो । एमालेको अबरोधका कारण मंगलबारसम्म चार पटक बैठक स्थगित भएको छ ।
मगलवार पनि एमालेले बजेटमाथि असन्तुष्टि जनाउँदै विरोध कायमै राखेपछि बैठक एक घण्टा स्थगीत गरिएको थियो । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकार र विपक्षी दलको बीचमा वार्ताको लागि भन्दै एक घण्टा बैठक स्थगित गरे पनि एमालेका प्रदेश सभा सदस्यहरु नाराबाजी गर्दै बाहिरिएका थिए ।
एमालेको अबरोधका कारण लुम्बिनी प्रदेश सभामा बजेटमाथीको छलफल प्रभावित भएको छ ।
बजेटमा २०७५÷०७६ यताका क्रमागत योजनाहरुमा बजेट कतौती गर्ने र प्रदेशका निर्देशनालयहरु खारेज गर्ने निर्णय सच्याउनु पर्ने एमालेको अडान छ ।
मगलवार प्रदेशसभा बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु उठेर विरोध जनाए । त्यस क्रममा एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बजेट पुस्तिका नै च्यातेका थिए ।













