भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४५ हजार रूपैयाँ घुस सहित कोटहीमाई गाउँपालिकाका एक ईन्जिनियरलाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले ४५ हजार रूपैयाँ घुस सहित पक्राउ परेको हो ।
कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात सम्पन्न भएको निर्माण कार्यको भुक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घुस लिँदा लिदै यादवलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राही बाट ४५ हजार रुपैया घुस लिइसकेको अवस्थामा उक्त रकम सहित नियन्त्रणमा लिएको आयोगको वेभसाईटमा उल्लेख छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।













