बुटवल,३१ जेठ । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका लागि नेकपा एमाले बुटवल उपमहानगर कमिटीले २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पतालमा ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नु पर्ने, वि।रामीलाई आवश्यक रगतको आपुर्तिका लागि अस्पतालमै ब्लड बैंकको सेवा केन्द्र स्थापना गर्नुपर्र्ने, डाक्टरहरुले विरामीलाई राम्रोसंग परामर्श गर्नुपर्ने, सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरुको विवरण सूचना पार्टीमा उल्लेख गरि पारदर्शी रुपमा उपलब्ध गराउनु पर्ने, रातको समयमा समेत आकस्मिक कक्षको सेवालाई गुणस्तरीय बनाउन एक्सरे, भिडियो एक्सरे लगायतका सेवाहरु सञ्चालन गर्न माग गरिएको छ ।
एमाले बुटवल नगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा गएको टोलीले अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापालाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।
ध्यानाकर्षण पत्र बारे जानकारी गराउँदै एमाले अध्यक्ष ज्ञवालीले ओपिडी सेवामा भिडभाड बढेका कारण फरक(फरक ठाउँमा सेवा विस्तार गरि भिड कम गर्नु पर्ने, विमा सुविधालाई व्यवस्थित गर्नु पर्ने, अपरेशनका लागि महिनौं कुर्नु पर्ने वाध्यताको अन्त्य गर्नु पर्ने, अस्पताल समयमा चिकित्सकहरुले बाहिरको निजी क्लिनिकहरुमा समेत काम गरेको गुनासाहरु आएका कारण त्यसको अन्त्य गर्नु पर्ने लगायतका बारे ध्यानाकर्षण गराए ।
अस्पतालको सेवाप्रति जनताको चासो र विश्वास घड्दै गएको प्रति चिन्ता व्यक्त गर्दै ज्ञवालीले विशेषज्ञ सेवालाई थप प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको व्यवस्था तथा ल्याव परीक्षणलाई थप विश्वसनीय बनाउन आग्रह गरे ।
सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले सेवा सुधार तथा विस्तारका लागि आफू प्रतिवद्ध भएर काम भइरहेको बताए । यसैगरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले सेवा सुधारका लागि आफूहरु प्रयासरत नै रहेको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले अस्पतालको क्षमता भन्दा तीन गुणा बढी विरामीको चाप भएकाले व्यवस्थापन गर्न गाह्रो भएको बताए । जिल्ला अस्पताल र पालिकामा भएका स्वास्थ्य संस्थाहरुको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन सके प्रोदेशिक अस्पतालमा चाप कम हुने अध्यक्ष श्रेष्ठले औंल्याए ।
आफूहरु आइसकेपछि सुधारका कामहरु अघि बढेको बताउँदै उनले सबै पक्षको सुझाव र सहकार्य आवश्यक रहेको उल्लेख गरे । अस्पतालमा सेवागाहीको चाप बढीरहेको बताउँदै थापाले सोही अनुसार जनशक्ति व्यवस्थापन र स्रोत व्यवस्थापनमा चुनौति समेत रहेको उल्लेख गरे ।













