पाल्पा -बगनासकाली गाउँपालिका ६ यम्घाको मचेटाघाटमा भएको अवैध नदीजन्य पदार्थ चोरी निकासीका विषयमा गाउँपालिकाले स्थलगत अनुगमन गरेर जिल्ला समन्वय समितिलाई प्रतिवेदन बुझाएको छ ।
जिल्ला समन्वय समिति पाल्पाका सदस्य केशवराज खराल र बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरि प्रसाद पाठक, प्रवक्ता टीकाबहादुर थापा, प्राविधिक र पत्रकार सहितको टोलीले घाटको अनुगमन गरेको हो । अनुगमनको प्रतिवेदन गाउँपालिकाले जिल्ला समन्वय समितिमा पठाएको छ ।
घाटबाट मनोमानी रुपमा नदीजन्य पदार्थ उठाएर योजनाको काममा प्रयोग गरेको साथै निकासी गरेर अन्यन्त्र तीन स्थानमा जम्मा गरी राखेको अवस्थामा भेटिएको प्रवक्ता टीका थापाले बताउनुभयो ।थापाका अनुसार अनुगमनमा अवैध रुपमा बन्द रहेको घाटबाट गिट्टी, बालुवा ४० टेक्टर र जगल क्षेत्रबाट १५ टेक्टर ढुङ्गा अवैध रुपमा निकासी गरी डम्पीङ्ग गरेको भेटिएको छ । पक्की पुन निर्माणको क्षेत्रका साथै बगनासकाली बृहत लिफ्टिंग खानेपानी आयोजनाको मुहान क्षेत्र भएकोले यसको ५ सय मिटर वरिपरी उत्खलन गर्न नमिल्ने भएकोले नदीजन्य प्रदान निकासी गर्न गाउँपालिकाले रोक लगाएको छ । रोक लगाएको क्षेत्रबाट सञ्चालनमा रहेका योजना, बस्ती प्रभावित हुनेगरी भएको चोरी निकासीमा स्थानीय जनप्रतिनिधि नै हुनु गम्भीर कुरा रहेको स्थानीयवासी शिव अधिकारीले बताउनुभयो । उहाँले वातावरणीय प्रभाव मूल्यांकन नभएको र वडामा प्रदेश सरकार मार्फत प्राप्त २० लाखको मोटबाटो स्तरोन्नतिको योजनामा समेत अवैध रुपमा निकासी गरेर ल्याइएको गिट्टी, बालुवा र ढुङ्गा प्रयोग भएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जिल्ला स्थित अनुगमन समितिलाई अनुगमन गरिदिन प्रतिवेदन सहित अनुरोध गरेकाले यथासिघ्र अनुगमन गरि आवश्यक प्रक्रिया अघि बढाईने बताउनुभयो ।













