पाल्पा २९ साउन
काठमाडौं पछि सबैभन्दा बढि जात्रा मनाइने सहरका रुपमा मानिने तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको दिनदेखि जात्रा निकालीदै आएको छ ।
आइतवार पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । प्रत्येक वर्ष रोपाइँ जात्राको भोलिपल्ट देखाइने बाघ जात्रा आज आइतवार देखाइएको हो । सो अवसरमा तानसेनको बजारमा बाघका आकृति सहितका युवाहरुले बाजा बजाएर बजार परिक्रमा गरेका थिए । बाघको रुपमा सिंगारिएको मान्छेलाई शिकारीहरुले घेरेको अभियनमा बाघ जात्रा देखाइन्छ ।
परापूर्वकालमा बाघको आतंकले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको जात्रा विज्ञ जानकारहरु बताउँछन् । केही वर्ष अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भए पनि देखाउने गरिएको छ ।
गएका दुई वर्ष कोरोना महामारीका कारण ठप्पै रहेका यहाँका जात्राहरु यस वर्ष भने छिटपुट रुपमा भएपनि देखाइएको छ । तानसेनमा लगातार दश दिनसम्म विभिन्न जात्राहरु मनाउने गरिन्छ । जात्राको अन्तिम दिन श्री ७ रणउजेश्वरी भगवतीको रथयात्रा सगै जात्रा सकिने गर्छ ।












