जाजरकोटको बारेकोट गाउँपालिका– ३ मुलसामकी २१ वर्षीया मिना नेपाली बाटोमै सुत्केरी भएकी हुन् ।
सुर्खेत – कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने बाध्यता बढेको छ। सुरक्षित रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्थामा लिन जानेक्रममा बाटोमै सुत्केरी हुने क्रम बढेको छ।
६ घण्टाभन्दा बढी स्टेचर, डोकोमा बोकेर स्वास्थ्य संस्थामा पुग्न नपाउदै सुत्केरी हुने क्रम बढेको हो। सोमबार जाजरकोटको बारेकोट गाउँपालिका– ३ मुलसामकी २१ वर्षीया मिना नेपालीलाई स्वास्थ्य संस्था लिम्सामा करिब ६ घण्टा बाटोमा बोकेर ल्याउँदाल्याउँदै सुत्केरी व्यथाले च्यापेपछि बाटोमै सुत्केरी भएकी हुन्।
बारेकोट गाउँपालिकामा सुरक्षित सुत्केरी गराएको भन्दै रिपोर्टमा १ नम्बर रहेको छ। महिनापिच्छे यस्ता घटनाहरू भइरहेको बारेकोट गाउँपालिका–२ का पत्रकार कालीबहादुर नेपाली बताए। गाउँपालिकाको स्वास्थ्य शाखाले सुरक्षित सुत्केरी गराएको भन्दै जिल्लाकै नमुना भएको प्रमाणपत्र पनि पाएका छन् ।
रुकुम पश्चिमको आठबीसकोट–११ चौरकी २२ वर्षीया पार्वती विकलाई गत साता सुत्केरी बेथाले च्यापेर ल्याउदा स्वास्थ्यकर्मी चम्पा खड्कका अनुसार बिहान ६ बजे अस्पताल आएकी उनको १० बजेसम्म पाठेघरका चार घर खुलेको थियो, त्यसपछि क्रमशः १० वटै घर त खुले, तर बच्चा बाहिर निस्किएन, त्यसपछि चौरजहारी अस्पताल पठाएको त बाटैमा बच्चा जन्मिएको खबर पाइएको र सामान्य अवस्थाभन्दा लामो समय बेथा लागेपछि प्रसूति गराउन नसकिएको उनले बताइन ।
पहुँचमा हुने व्यक्तिले हेलिकोप्टरमा उद्धार गरी सुविधा सम्पन्न ठाउँमा सुत्केरी गराउने गरेको छ। पहुँचमा हुने महिलाहरूले मात्र यो सुविधा लिएको आरोप लाग्दै आएको छ। भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको लापरबाही, परिवारको आर्थिक अवस्था लगायत कारण कर्णालीका महिला बाटोमै सुत्केरी हुन बाध्य भएको छ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग कर्णालीमा २३.६ प्रतिशत परिवार मात्रै आधा घण्टाभित्र स्वास्थ्य संस्था पुग्न सक्ने तथ्यांक छ। बाँकी जनसंख्या घण्टौं लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ। कर्णालीका १० जिल्लामध्ये हुम्ला अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशभरि ३५९ वटा बर्थिङ सेन्टरहरू छ। सबैभन्दा बढी बर्थिङ सेन्टर दैलेखमा ७२ वटा छन्। निर्देशनालयका अनुसार सबैभन्दा कम बर्थिङ सेन्टर डोल्पामा १४ वटा छन्।













