२० कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आज ए डिभिजन लिग स्थगनको विरोधमा खेलाडीहरूले प्रदर्शन गरेका छन्।
नेपाल फुटबल खेलाडी संघको आयोजनामा सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेका खेलाडीहरूले गेटमै आफ्ना मेडलहरू झुन्ड्याएर असन्तुष्टि जनाएका हुन्।
संघले खेल्न पाउने आफ्नो आधारभूत हकको रक्षा गर्न सडकमा आउन बाध्य भएको जनाएको छ। खेलाडी संघका अध्यक्ष विक्रम लामाले मेडल त्यहीँ छाडेर जाने बताएका छन्। उनले भने, “अब यो मेडल एन्फाले आफैं आएर लाओस्, हामीले यहीँ छाडेर जान्छौं।”
लिग पटक–पटक स्थगित हुँदा खेलाडीहरूको पेशागत भविष्यमा असर परेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको छ।













