राष्ट्रिय न्युज- सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय आज बसेको मन्त्रीपरिषदको पहिलो वैठकले गरेको हो । सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय मन्त्रीपरिषद वैठकले गरेको छ ।सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रीपरिषद वैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको कानुन तथा गृहमन्त्री ओम प्रकाश अर्यालले बताए ।
सरकारले जेनजी आन्दोलनमा क्षति भएका संरचनाको पुनर्निर्माण गर्न पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय गरेको छ । सरकारले जेनजी आन्दोलनमा भएका घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ साथै बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाउने युवाको सम्झनामा जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने योजना निर्माण गर्नका लागि शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएको समेत मन्त्री अर्यालले बताए ।













