नेत्र गैरे
पृष्ठभुमी
पाल्पा जिल्लाका धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका साथै पर्यटन विकासलाई टेवा दिने प्रचुर सम्भावना बोकेको ठाउँहरूमध्ये दर्लमडाँडा पनि एक हो । यो ठाउँ जिल्लाको सदरमुकाम तानसेन देखि करिब १२ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ । दर्लमडाँडा पहिले गाउँ बिकास समितिको रूपमा परिचित थियो भने संघिय संरचना पश्चात् अहिले बगनासकाली गाउँपालिकाको वडा नम्बर ५ मा रूपान्तरित भएको छ ।
धार्मिक सांस्कृतिक पहिचान बोकेका यो वडा उत्तरमा काली गण्डकी, दक्षिणमा चापपानी र नायर नम्तलेस, पुर्वमा खानिछाप र पश्चिममा यम्घा वडाहरू रहेका छन्।शिक्षाको क्षेत्रमा हेर्दा यस वडामा २ सामुदायिकर एक संस्थागत बिद्यालयहरु बालबालिकालाई शिक्षाप्रदान गर्ने शैक्षिक धरोहरका रूपमा रहेका छन् ।यस वडाको केन्द्र भाग गरनडाँडामा रहेको स्वास्थ्य केन्द्रले यस क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवा दिदै आएको छ ।
यस वडाका वडाबासीहरू आत्म निर्भर र भरपर्दो कृषी पेशामा आश्रीत नरहे पनि खेतबारी कमै बाझो रहेको पाइन्छ । वडामा अन्नबाली साथै गेडागुडी, बेसार खेती उत्पादन गरिएको छ । यहाँ तरकारीको पकेट क्षेत्रको रूपमा सुनादी परिचित छ । यहाँका ३० घरका भट्टराई दाजुभाईहरू मिली करिब ६० रोपनी जमिनमा तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादित अन्नबालीबाहेक काउली, टमाटर, बन्दा, लहरेबालीबाट उत्पादित तरकारीहरू उत्पादन गरी विक्री गरेको र सोही तरकारी खेतीमा आत्मनिर्भर रहेको स्थानिय बताउछन् ।
साबिक दर्लमडाँडा गाउँ बिकास समितिका सबै वडाहरूमा साना ठुला सवारी साधनहरू गुडिरहेका छन भने वडाभित्र ग्राभिटी र लिफ्टिङस्वच्छ खानेपानीको उपभोग गर्दै आएका छन् ।
आन्तरिक र बाह्य पर्यटनको क्षेत्रमा यस वडाले बलियो पहिचान बनाएको छ ।यस वडालाई उत्तरी पाल्पाकै धार्मिक सांस्कृतिक धरोहरको रूपमा पनि लिन सकिन्छ । यस वडाका साविक दर्लमडाँडा गा.वि.स भित्र रहेका गाउँहरूमध्ये दर्लमडाँडामा दर्लम महाकाली मन्दिर, शिव मन्दिर, नौ देवी मन्दिर, झाँक्री थान, भयरथान रहेका छन् । यस्तै साविक वडा नं. २ मा सुन शिद्धगुफा, रामजानकी मन्दिर, भगवती मन्दिर, जगन्नाथ मन्दिर, बालखराम गुफा, रामानुज आश्रम, वेङ्कटेश्वर मन्दिर छन् । साविक वडा नं ३,४ र ५ मा बराजु मन्दिरहरूका साथै शहिद पार्क रहेको छ । यस्तै वडा नं. ६ को कालिका मन्दिर, वडा नं ७ गरनडाँडाको चेचीकोट, शिवालय र चण्डी मन्दिरका साथै वडा नं. ९ को गेझाठाँटी र भयरझाँक्री मन्दिरले यस वडालाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा परिचित गराएको छ ।
दर्लममहाकाली
दर्लम महाकाली भगवती माताको दर्शन गर्न आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको घुइचो नै लाग्ने गर्दछ ।श्रीकृष्णगण्डकीको पवित्र स्थल रामनदीधाम राम्दीघाटबाट करिब ५ किलोमिटर दक्षिण पश्चिम तथा पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट करिब १२ किलोमिटर उत्तर पूर्व दर्लमडाँडामा दर्लम महाकाली भगवती मन्दिर अवस्थित छ ।
दर्लमडाँडा निवासी स्व. पदमपाणी गैरेका पूर्वज कुलानन्द तारापतिहरूले बि.सं.१९३० देखि सोही ठाउँमा महाकाली भगवतीको नित्य पूजा गर्दै आएका थिए । स्र्विर्गय पदम्पाणी गैरेले बि.सं. १९९० देखि श्री दर्लममहाकाली भगवतीको सानो मन्दिर निर्माण गरि माटोको मुर्ति बनाई पूजा आज सुरू गरेका थिए । हाल यो मन्दिर मनकामना मन्दिरको शैलीमा निर्माण गरिएको छ । हाल यो मन्दिर तामाको छानो र गजुर सहित प्यागोडा शैलीमा रहेको छ ।
महाकाली भगवतीको मन्दिर ३ तलाको बनेको छ । एक तलाको बरण्डा माथी पक्की ढलान छ भने २ तलाका छाना प्यागोडा शैलीमा तामाको छानाले छाइएको छ । मन्दिर परिसरमा गुरूयोजना अनुरूप भुवनेश्वरी मन्दिर, भजन किर्तन सत्तल सहितको शिवालय र होमकुण्ड र पुरानो मन्दिरको जीर्णेद्धार पुरातत्व विभागको सल्लाह अनुसार गरिएको छ ।
यस दर्लम महाकाली भगवती मन्दिरमा दैनिक पूजा, पाठ परायणका साथै बार्षिकरूपमा मन्दिरमा थप धार्मिक कार्यहरू हुँदै आएको छ । जस अनुसार प्रत्येक बर्ष माता महाकालीको उत्पत्ति भएको दिन हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन बाजा गाजा, भजन र्कितन सहित माता महाकालीको रथ यात्रा गराउने प्रचलन रही आएको छ ।
शिवरात्रीमा रूद्राभिषेक सहित भजन किर्तन, चैते दशैमा नित्य नवदुर्गा पूजा, परम्परागत सप्तशती चण्डीको विधान अनुसार र माता महाकालीको सप्रमोधको विधान अनुसारको पूजा गर्ने गरिन्छ । यस्तै गरी श्री कृष्ण जन्माष्टमीमा श्री कृष्ण जन्मोत्सव, श्रावण महीनामा बोलबमको जल चढाउने कार्यक्रमका साथै नव दुर्गामा बडादशै पूजा गर्ने गरिन्छ । यी समयमा अरू बेला भन्दा यहाँ दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ । कुनै शुभकार्यका लागि महाकालीसँग भाकल गर्ने र भाकल पूरा भएपछि रोट, बली वा पञ्चवली लैजाने प्रचलन समेत रहेको छ ।
धार्मिक आस्थाको केन्द्र राम्दी सिद्ध गुफा
यस्तै गरी सिद्धगुफा राम्दीले पनि धार्मिक पर्यटकहरूलाई लोभ्याएको छ । धार्मिक तथा पर्यटकिय स्थलको रूपमा परिचित राम नदीधामको बेग्लै महत्व रहेको पाइन्छ । कृष्ण गण्डकी नदि हिन्दु धर्मावलम्बीहरूको धरोहर पवित्र स्थल हो । जसको केन्द्रमा रहेको रामनदिधाम तथा यहाँ अवस्थित सिद्धगुफाको छुट्ट्रै महत्व रहेको छ । पौराणिक कथनअनुसार यस गुफाभित्र सत्य युगमा कपिलमुनीले, त्रेता युगमा हनुमान, रामचन्द्र र सिता भगवानहरूले र द्वापर युगमा बलरामले तपस्या गर्नुभएको धामिक विद्वानहरूको भनाइ छ ।
यस मन्दिरमा दर्लमडाँडा, खानीछाप, पिपलडाँडा,यम्घा, चापपानी लगायत स्याङजा जिल्लाका मालुङ्का, कृष्ण गण्डकी गाउँपालिका क्षेत्रका साथै गुल्मी अर्घाखाची जिल्लाका किसानहरुले गाई भैसीको दुध ल्याएर चढाउने गर्दछन् । यसरी दुध चढाउँदागाई भैसी निरन्तर ब्याउछ भन्ने जन बिश्वास रहदै आएको पाइन्छ ।
यस मन्दिरभित्र प्रवेश गर्दा करिब ५ मिटर लम्बाइ र ४ मिटर चौडाइ रहेको गोमनसाँपको आकृतीजस्तै गुफाको बनोट देखिन्छ । त्यसका बीचबीचमा सर्पका बच्चाहरूको आकृति, गणेश भगवान, शिव पार्वती र सिद्धको प्राकृतिक स्वरूपका साथै पानीको सानो तलाउ, तलाउमा माछा देख्न सकिन्छ ।यस गुफामा झण्डै १०० वर्षभन्दा अघिदेखि निरन्तर अखण्ड धुनी बल्दै आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
दैनिक रूपमा हुने पुजा पाठ, रूद्री, अखण्ड दीपजस्ता कार्यहरूले भक्तजनहरूलाई थप आकर्षित बनाएको छ । यस मन्दिरमा हरिबोधनी एकादशी, शिवरात्री, माघे सक्रान्ति, साउन महिनाको सोमबार, बैशाखे सक्रान्ति साथै अन्य विशेष दिनहरूमा दर्शनार्थीहरू घुइचो लाग्ने गर्दछ ।
पाल्पा र स्याङ्जा जिल्लाकोसंगम स्थल रामनदीधाम राम्दी हो । यस क्षेत्रमा युगौयुग देखि ऋषिमुनी योगी, सन्त, महात्माहरूले तपस्या गर्दै आउनु भएको पवित्र धार्मिकस्थलको रूपमा परिचित रहेको छ । यस रामनदीधाम वरपर छिमेकी गाउँमा पनि धार्मिक स्थलहरू छन् । यस क्षेत्रमा योगी नरहरी नाथले रामनदीधामको संज्ञा दिई दुई पटक कोटी होम लगायतका अनेकौ यज्ञ गरी चारधाम लगायतका विभिन्न धार्मिक देवस्थलहरूबाट सीला, मुर्तीहरू ल्याई राख्नु भयो । रामनदीधाम क्षेत्रमा हरिवोधनी एकादशी, माघेसक्रान्ती, बैशाखे सक्रान्तीको अवसरमा मेला लागनुका सार्थ अन्तिम दाहा संस्कार, श्राद्ध, लाखबत्ती बाल्ने, तोरण तार्ने, रूद्री, भागवत, गायत्री जप, अनुष्ठान, सत्यनारायण पुजा जस्ता कार्यहरू हुने गर्दछ ।
संस्कृति तथा रितिरिवाज
यस वडामा विविध संस्कार, संस्कृति, रीतिरिवाज अनुसार मानिसका दैनिकीहरू चल्दै आएका छन् । विशेषतः मगर र ब्राहमण समुदायको करिब बराबरी बाहुल्यता रहेको यस समुदायमा आ–आफ्नो धर्म संस्कृति अनुसार कृयाकलापहरू गरेको पाइन्छ । खासगरी मगर समुदायका मानिसहरूले मनाउने चाडहरूमध्ये दशैं, तिहार, तीजका साथै माघेसंक्रान्ति, चन्डी पूर्णिमा, मगर दिवस विशेष हुन् ।
समुदायमा माघेसंक्रान्तिको बेला आफन्तजन पाहुनाहरूलाई बोलाई मिठामिठा परिकार जस्तै सेलरोटी, विशेषतः बारा(बटुक), तरूललगायतका परिकार बनाई खुवाउने र नाचगान गर्ने गरिन्छ ।खासगरी यस समुदायमा माघे संक्रान्तिलाई आफ्ना पितृहरूको सम्झनामा मनाइने चाडको रूपमा लिने गरेको स्थानीय ईन्द्र खाम्चा बताउछन् ।
यस्तैगरी ब्राहमण समुदायका मानिसहरू पनि संस्कार र संकृतिको संरक्षणमाआफ्नै खालको भुमिका निर्वाह गरेको पाइन्छ । समय समयमा धर्म संस्कृतिको संरक्षणमा गरिने कार्यहरूलाई बचाइ राख्न साविक वडा नं. २ अग्रस्थानमा रहेको छ । उनीहरू सुनादीको पहिचान बचाउन र उक्त ठाउँलाई व्यवस्थित गर्न, संस्कार र संस्कृतिको संरक्षण गर्न नयाँ पुस्तालाई संस्कृति संरक्षणमा अगाडी बढाउनका साथै सुनादीको विकास र पहिचानका लागि धार्मिक पर्यटकहरू भित्रयाउने उद्देश्यले ब्राहमण होमस्टे खोल्ने तयारी गरेको बगनासकाली गाउँपालिका कार्यपलिका सदस्य खुमादेवी भट्टराईको भनाई छ ।
शहिद केवल गाहा स्मारक
पर्यटकिय आर्कषणको केन्द्रको रूपमा संम्भाव्यता बोकेको तल्लो कोलडाँडा शहिद केवल गाहा पार्क र भ्यू टावरको योजनाले आन्तरिक तथा बाह्य पर्यटनको आर्कषण बढाउन सहयोग पुग्ने देखिन्छ । २०३० साल भाद्र ३ मा जन्मनु भएका शहिद केवल गाहा मगर इमान्दार, निष्ठावान र क्रियाशील कम्यूनिष्ट नेता हुनुहुथ्यो । २०५४ सालमा तत्कालीन ने.क.पा (माओवादी) पाल्पाको संस्थापक सदस्य, २०५६ मा छापामार दस्ताको प्रमुख, पाल्पा जिल्ला पश्चिम र मध्य इलाका इन्चार्ज समेत रहँदै २०५८ मंसिर ११ देखि चलेको संकटकालको जटिल परिस्थितिमा जिल्लाको वरिष्ठ सचिवालय सदस्य रहनुभएका सहिद केवल गाहा मगरको लालसेना एवम् जनयुद्धका जनमुक्ति सेना व्यवस्थापनका क्रममा तत्कालिन शाही सरकारको सेनाले सेल्टरमै घेरावन्दी गरी २०५८ पौष ४ गते हत्या गरेको थियो । वहाँको सम्मान र सम्झनामा अर्धकद प्रतिमासहित केवल गाहा मगर स्मृति खेलमैदान स्थापना गरिएको छ ।यो ठाउँबाट पाल्पा जिल्लाका विभिन्न स्थानहरूको साथै स्याङ्जालगायत कालीगण्डकीको दृश्यावलोकन गर्न सकिने हुँदा यस वडाले पर्यटकीय स्थलको रूपमा विकास गर्नुपर्ने देखिन्छ ।










