२३ साउन,पाल्पा
रामपुर नगरपालिकाले विद्यालयहरुलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण गरेको छ । नगरपालिकाले मंगलबार नगर भित्रका १८ विद्यालयलाई डिस्पोजल मेसिन सहित सेनेटरी प्याड र अन्य ६ वटा आधारभूत विद्यालयलाई सेनिटरी प्याड वितरणा गरेको छ ।
नगरपालिकाले २४ वटा विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनिटरी प्याड र १८ वटा डिस्पोजल नष्ट गर्ने मेसिन वितरण गरेको हो । नेपाल सरकारको सशर्त अनुदान सेनिटरी प्याड व्यवस्थापन कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने एक हजार सात सय ५६ जना विद्यार्थीहरुलाई पुग्ने सेनिटरी प्याड वितरण गरिएको हो । नेपाल सरकारको २० लाख रुपैयाँ अनुदान मार्फत डिस्पोजल मेसिन र सेनिटरी प्याड वितरण गरेको हो ।
रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीको समयमा सहज होस भन्ने उद्देश्यले सेनिटरी प्याड उपलव्ध गराइएको भन्दै आवश्यकतानुसार समान रुपमा वितरण गर्न पनि सुझाव दिनु भयो । विगतका वर्षमा पनि सेनिटरी प्याड वितरण गर्दै आएपनि प्याडको प्रयोग पश्चात व्यवस्थापनमा समस्या देखिएपछि यसपाली सहज नष्ट का लागि मेसिन समेत वितरण गरिएको उहाँले उल्लेख गर्नु भयो ।
रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले पहिलो चरणमा माध्यमिक विद्यालयहरुलाई १ /१ वटा डिस्पोजल मेसिन सहित र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको र आगामी दिनमा अन्य विद्यालयलाई पनि डिस्पोजल मेसिन प्रदान गरिने जानकारी दिनुभयो । विद्यालयको आवश्यकता र माग अनुसार यस वर्ष सेनिटरी प्याड नष्ट गर्नका लागि डिस्पोजल मेसिन वितरण गरेको पनि उहाँले बताउनुभयो । सेनिटरी प्याडले छात्राहरुलाई धेरै राहत मिलेको र प्रयोग पश्चात व्यवस्थापनमा समस्या हुने गरेकोमा डिस्पोजल मेसिन पाए पछि व्यवस्थापन गर्न सहज हुने दरैठाँटी माध्यमिक विद्यालयका प्राधानाध्यापक सुन्दर प्रसाद देवकोटाले बताउनुभयो । २४ वटा विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १ हजार ७ सय ५६ जना छात्राहरुलाई ६/६ वटा पुग्ने गरी सेनिटरी प्याड वितरण गरेको छ ।













