सुमित्रा कंडेल,पाल्पा
बगनासकाली गाउँपालिका –२ कि कल्पना बि क लाई उद्यमी महिला भनेर सम्बोधन गर्दा खुसीले मन प्रफुल्ल हुनेगर्छ । आफ्नो दुनाटपरी उद्योग यो अवस्थामा आइपुग्ला भनेर उहाँलाई विश्वास थिएन । तर गरेपछि हुन्छ भन्ने अनुभव भएको उहाँको भनाइ छ ।
सामान्यतया घरायसी प्रयोगका लागि स्थानीय सीप र प्रविधिको प्रयोग गरी निर्वाहमुखी तरिकाले जीवन चलाइरहेको भए पनि गाउँपालिकाबाट तालिम लिएर उद्योग खोल्न सकेको उहाँले बताउनुभयो ।
बि.क. आजभोलि गृहिणीबाट व्यवसायी महिला बन्नुभएको छ । दुनाटपरी व्यवसायले एकातिर उहाँको परिचय फेरिएको छ भने अर्कोतर्फ उहाँको जीवनस्तरमा समेत परिवर्तन ल्याएको छ । बि क मात्र होइन, दुनाटपरीबाट ८ जना महिला उद्यमी बन्न सफल हुनुभएको छ ।
उहाँहरूको दैनिकी मात्रै फेरिएको छैन, पहिचान पनि कायम भएको छ । उद्यमी लक्ष्मीले भन्नुभयो, “घरमा बसेर केही गर्दैन भन्ने घरको काम सबै एक्लै गर्नुपर्ने थियो । तर आजभोलि व्यवसाय सुरु गरेपछि घरको काममा पनि सबैले सघाउने गर्नुभएको छ । समाजका दिदीबहिनीले पनि उद्योगमा काम गर्न थालेपछि फरक दृष्टिकोणले हेर्ने गर्नुभएको छ । पहिले दुई–चार रुपियाँका लागि नपत्याउनेहरू आजभोलि सापटी माग्न आउन थालेका छन् ।”
बि क र सारु जस्तै उद्यमी महिला बन्नुभएकी दुर्गा कुवर,राधीका गहतराज ढल्कँदो उमेरमा उद्यमी महिला भनेर चिनिन पाउँदा औधी खुसी भएको बताउनुभयो । आर्थिक जोहो पनि हुने, आफ्नो खर्च चलाउन अरूसँग हात थाप्न नपर्दा आनन्द आउने उहाँको भनाइ छ ।
८ जना महिला मिलेर गाउँपालिकाको आयोजनामा सात दिने दुनाटपरी बनाउने तालिम लिएर व्यवसाय गर्नुपर्छ भन्ने लागेर पालिकाले पहिलो चरणमा एक वटा मेसिन उपलब्ध गराएसङै उद्योग सुरु गरेका हुन । अहिले पलिकाले थप अर्को मेसिन पनि उपलब्ध गराएसङै आम्दानीमा पनि दोब्बर भएको उद्यमि बताउछन।प्रत्येक उद्यमिको मासिक आम्दानी अहिले बीस देखि तीस हजारको हाराहारीमा हुने गरेको उनिहरु बताउछन।
महिला दिदीबहिनी मिलेर केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्न सफल ८ जना दिदीबहिनीको दुनाटपरी उत्पादनमा भएका विभिन्न आकारका दुना र टपरि हेर्दा लोभलाग्दो देखिन्छ ।
व्यावसायिक रूपले उद्योग सञ्चालन गर्नेहरूका लागि स्थानीय सरकारले आर्थिक र प्राविधिक सहयोगका कार्यक्रम ल्याएकोमा खुसी लागेको उद्यमी महिलाको भनाइ छ ।













